हृदयचन्द्रसिंह प्रधानको ‘एक चिहान’ कावासोतीमा मञ्चन हुँदै

कावासाेती, ३ फागुन ।
साहित्यकार हृदयचन्द्रसिंह प्रधानको उपन्यास एक चिहानमा आधारित नाटक ‘एक चिहान’ कावासोतीमा मञ्चन हुने भएको छ । पोखरा थिएटरको सहकार्यमा देवचुलीमा रहेको ह्याप्पी एफएमले नाटक मञ्चनको आयोजना गरेको हो ।

परिवर्तनको निर्देशन रहेको नाटकमा यही फागुन १६ गतेदेखि तीन दिनसम्म चल्ने तथा दैनिक तीन शो प्रदर्शन गरिने कार्यक्रम संयोजक एवं ह्याप्पी एफएमका स्टेशन म्यानेजर आदर्श सुशीलले बताए ।

चौध कलाकारको प्रस्तुति रहने नाटक एक घण्टा ४५ मिनेट लामो रहने नाटकका निर्देशक परिवर्तनले जानकारी दिए ।

नेपाली गरिब किसान र मजदुरको जीवनमा आधारित नाटक एक चिहान सामाजिक यथार्थवादी नाटक रहेको र यसले विसं २०११ आसापासको नेपाली समाजमा रहेको निम्न वर्गीय जीवनका जटिलता र सङ्घर्षलाई चित्रण गर्ने निर्देशक परिवर्तनले बताए। उनका अनुसार नाटकमा विशेष गरी नेवारी समुदायको पारिवारिक परिवेश देखाइएको छ ।

नाटकमा प्रजातन्त्र प्राप्तिपछि विस्तारै मौलाउँदै गएको प्रगतिशील सोचको परिवेश, सांस्कृतिक समिश्रण, समावेशी र समानताका लागि आवश्यक परेको तथ्य रुढिवादी तथा अन्धविश्वासले नेपाली समाजलाई नछाडेको वास्तविकता नाटकभित्र अनुकूल घटनाक्रम र स्वभाविक पात्रको परिवेश देखाउन खोजिएको छ ।

एक चिहान विद्यालय तहको पाठ्यक्रममा समेत समावेश गरिएको उपन्यास भएकाले उपन्यासको नाट्य रूपान्तरणले विशेष गरेर विद्यार्थी लाभान्वित हुने उनको भनाइ छ ।

साहित्यकार हृदयचन्द्रसिंह प्रधान (विसं १९७२-२०१६) नेपाली साहित्यका उपन्यास, नाटक, निबन्ध, समालोचना लगायतका विविध क्षेत्रमा कलम चलाउने बहुमुखी व्यक्तित्व थिए ।

उनका साहित्यको उपन्यास विधामा स्वास्नी मान्छे (२०१५) र एक चिहान(२०१७) गरी दुई मात्र कृति प्रकाशित छन् ।

यी उपन्यासका माध्यमबाट प्रधानले लेखनकालीन नेपाली समाजका नारीले भोग्नुपरेका यातना, किसानमाथिको आर्थिक शोषण, सामाजिक अन्धविश्वास र त्यस प्रकारका विकृतिबाट मुक्तिको मार्ग निर्देश गरेका थिए ।

प्रधानको एक चिहान कृति माध्यमिक तहको अनिवार्य नेपाली विषयमा समेत समावेश गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट