काठमाडौँ, २७ माघ ।
संरक्षित वन्यजन्तु गैँडाको खाग ओसारपसार तथा खरिद बिक्री गर्ने १५ जना पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो। ब्युरोका एसपी सञ्जयसिंह थापाका अनुसार शुरूमा पुस १९ गते काठमाडौँ महानगरपालिका–७ सरस्वती नगरबाट गैँडाको एक थान खाग (पाँच सय २२ ग्राम)सहित इन्द्रमणि आर्चाय र जमुनाकुमारी शर्मा पक्राउ परेका थिए।
त्यसपछि सोधपुछ तथा अनुसन्धानका क्रममा उक्त कारोबारमा संलग्न अन्य १३ जनालाई विभिन्न जिल्लाबाट पक्राउ गरी डिभिजन वन कार्यालय काठमाडौँमा बुझाइएको एसपी थापाले जानकारी दिए। ब्यूरोको टोलीले अनुसन्धानका क्रममा माघ १२ गते बाबुलाल भट्टराई, गजाधर सापकोटा र प्रताप चौधरीलाई पक्राउ गरेको थियो।
यसैगरी माघ २० गते डम्बरकुमार आले मगर, दानबहादुर राना र निर्मल शाही, माघ २२ गते हरिमाया राना, माघ २४ गते कमला तामाङ तथा माघ २५ गते सोमबहादुर चेपाङ, तुलसी चेपाङ, वीरमान वाइबा, राधाकृष्ण चेपाङ र आइतबहादुर तामाङलाई पक्राउ गरेको ब्युरोले जनाएको छ।




