नव जनजागृतिको स्थापना दिवसमा १७ जना सम्मानित

भरतपुर, २५ माघ
नव जनजागृति बचत तथा ऋण सहकारी संस्था भरतपुर १३, पृथ्वीनगरले मंगलबार स्थापना दिवस मनाएको छ । पुरस्कार तथा सम्मान वितरण, रक्तदानसहित विविध कार्यक्रम गरी सहकारीले १७ औं स्थापना दिवस मनाएको हो ।
सो अवसरमा ज्येष्ठ शेयर सदस्य, उत्कृष्ट बचतकर्ता, असल ऋणीसहित १३ जनालाई सम्मान गरिएको संस्थाका सचिव बलराम पौडेलले जानकारी दिए । उत्कृष्ट बचतकर्तातर्फ नवराज सापकोटा, महेश्वर सापकोटा, राधिका खनाल र हिमालय दण्डपाणी न्यौपाने माध्यामिक विद्यालयलाई सम्मान गरिएको थियो । पौडेलका अनुसार असल ऋणीतर्फ रमादेवी अधिकारी, जमुना अधिकारी र इन्द्र घिमिरे, मैना सन्यासी, विजय ओझा र दिनेशभद्र पण्डित सम्मानित भएका थिए । संस्थाले ७० वर्ष पूरा गरेका चन्द्रकला अधिकारी, विष्णुप्रसाद अर्याल र तारानाथ सुवेदीलाई ज्येष्ठ शेयर सदस्यका रुपमा सम्मान गरेको थियो ।

प्रमुख अतिथि जिल्ला सहकारी संघ, चितवनका अध्यक्ष हरिप्रसाद पौडेल र नव जनजागृति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खिलराज रेग्मीले सम्मानित व्यक्तिहरुलाई खादा ओढाई सम्मानपत्र वितरण गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले समुदायमा आधारित बचत तथा ऋण सहकारी संस्था कहिल्यै नडुब्ने बताए । पछिल्लो समयम बचत तथा ऋण सहकारीका विषयमा प्रश्न उठेको भए पनि नव जनजागृति जस्ता समुदायमा आधारित सहकारीमा मानिसहरुको आकर्षण बढेको भन्दै पौडेलले भने, ‘सहरमा नचिनेका संचालक र फरक पृष्ठ भूमि भएका व्यक्तिहरुका कारण केही सहकारी जोखिममा परेका छन् । तर समुदायमा आधारित सहकारी वर्षौंसम्म रहन्छन् ।

कार्यक्रममा नव जनजागृति बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष एवम् जिल्ला सहकारी संघ, चितवनका निवर्तमान अध्यक्ष हरिश्चन्द्र सुवेदीले संस्थाको इतिहास जानकारी गराएका थिए । उनका अनुसार भरतपुर १३ को एकमात्र बचत तथा ऋण सहकारीको रुपमा परिचित नव जनजागृति बचत तथा ऋण सहकारी संस्था ८४ जना पशुपालक किसानहरुले २०५४ सालमा मासिक ५० रुपैयाँ बचत गर्दै व्यापार समूहको रुपमा सुरु गरेका थिए ।
अहिले यस सहकारीमा १ हजार ३ सयभन्दा बढी सदस्य छन् भने १३ करोड पूँजी छ । बचतसँगै सहकारीले अहिले व्यावसायिक, कृषि र वैदेशिक रोजगारीको लागि ऋण लगानी गर्दै आएको छ । भरतपुरकै ग्रामीण भेगमा सहकारीले भावी दिनमा डिजिटल बैंकिङ कार्य समेत सुरु गर्ने योजना छ ।

नव जनजागृति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खिलराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष भानुभक्त सुवेदीले स्वागत मन्तव्य राखेका थिए । संस्थाले स्थापना दिवसकै अवसरमा आयोजित रक्तदान कार्यक्रममा १० महिलासहित ४७ जनाले रक्तदान गरेका थिए । केन्द्रीय दुग्ध सहकारी संघका उपाध्यक्ष भागिरथ तिमल्सेनाले ५२औं पटक रक्तदान गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए । अध्यक्ष रेग्मीले सेयर सदस्यका हितका लागि आफ्नो नेतृत्व निरन्तर लाग्ने बताएका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट