सौराहा, २४ माघ ।
आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसले उम्मेदवारी दिने भएको छ । नेपाल प्रेस युनियन बागमती प्रदेश समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका बरिस्ठ नेता डाक्टर शेखर कोइरालाले रास्ट्रपतिको चुनावमा नेपाली कांग्रेसले उम्मेदवार उठाउने निर्णय गरेको बताएका हुन् । `मुलुकको पछिल्लो राजनीतिक अवस्था अत्यन्तै अप्ठ्यारो मोडमा छ । यसलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ, मुलुकमा राजनीतिक स्थिरताका लागि नेपाली कांग्रेसले भूमिका खेल्नुपर्ने बेला पनि आएको छ´, बरिस्ठ नेता कोइरालाले भने – `संसदको बनोट पहिलेजस्तो छैन, राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट अलग भए पनि समर्थन भने दिइरहेको अवस्था छ, नयाँ राजनीतिक समीकरण कसरी जान्छ भन्नेमा नेपाली कांग्रेसले सोच्नुपर्ने बेला आएको छ ।´ अन्यदलसँग समन्वय गरेर भए पनि रास्ट्रपतिमा कांग्रेसले उम्मेदवार उठाउने र जित पनि निकाल्ने कोइरालाले दाबी गरे ।
बरिस्ठ नेता कोइरालाले स्वतन्त्र न्यायपालिका र स्वतन्त्र सञ्चार नभै लोकतन्त्र फस्टाउन नसक्ने पनि बताएका छन् । `नेपाली कांग्रेस आफै लोकतान्त्रिक पार्टी हो, नेपाली कांग्रेस स्वतन्त्र प्रेस र न्यायपालिकाको पक्षमा छ, न्यायपालिकामा अहिले जेजे भैरहेको छ त्यो चित्तबुझ्दो छैन´, नेता कोइरालाले भने – `लोकतन्त्र बचाउन कांग्रेसले भूमिका खेल्नेछ ।´




