भरतपुर, २५ पुस ।
भारतको गुजरातबाट लखनउतर्फ आइरहेको एक बस दुर्घटना हुँदा तीन जना नेपालीसहित चार जनाको मृत्यु भएको पुष्टि भएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार मृत्यु भएका तीन जना नेपालीहरू कैलालीको टीकापुरका हुन् ।
दुर्घटनामा ज्यान गुमाउनेमा टीकापुर नगरपालिका–१ का ५५ वर्षीय चन्द्र साउद, ४५ वर्षीय ललित साउद र २० वर्षीया निर्मला बोहरा रहेको उनले बताए ।
भारतको गुजरातबाट टीकापुर आउँदै गरेको बस गएराति लखनउमा दुर्घटना भएको हो ।
बस दुर्घटनाको कारण खुलेको छैन । भारतमा केही दिनयता बाक्लो हुस्सु र कुहिरो लागेको छ । भिजिबिलिटी कमजोर भएकाले यात्रा कठिन भइरहेको समाचार भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।





