प्रतिनिधिसभाको पहिलो बैठक आज

काठमाडौं, २५ पुस ।
मंसिर ४ मा चुनावबाट गठन भएको प्रतिनिधिसभाको पहिलो बैठक आज दिउँसो १ बजे बस्ने भएको छ।

यसअघि पुस ७ गते सांसदहरूले जेष्ठ सदस्य पशुपति शमशेर राणासँग पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै संसदको पहिलो अधिवेशनको पहिलो बैठक सोमबारका लागि संसद भवन नयाँ बानेश्वरमा बस्नेगरी आह्वान गरिएको थियो ।

बैठकको सुरुवात गर्दै जेष्ठ सदस्य राणाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट अविधेशन आह्वान गरेको पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।

त्यसपछि राष्ट्रपति कार्यालयले संसदलाई जानकारी गराएको प्रधानमन्त्री नियुक्ति तथा मन्त्रिरिषद गठन सम्बन्धी पत्रको व्यहोरा वाचन गरेर संसदमा सुनाउने छन् । यसमा प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड पुस १० गते नियुक्त भएको व्यहोरा सुनाउनेछन् ।

संसदको सम्भावित कार्यसूची अनुसार प्रतिनिधिसभाले अर्को नियमावली नबनाएसम्म संविधानको धारा १०४ बमोजिम प्रतिनिधिसभा नियमावली २०७५ स्वीकृतिका लागि प्रस्तुत हुनेछ जसलाई सदनले अनुमोदन गरेपछि अर्को नियमावली नबनुञ्जेल त्यसले काम गर्नेछ ।

भोलि नै संसदले बैठकको अध्यक्षता गर्ने व्यक्तिको नाम अनुमोदन गर्नेछ । प्रत्येक अधिवेशनमा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने व्यक्तिका लागि अध्यक्ष मण्डलको मनोनयन गर्ने अभ्यास अनुसार सोमबार पनि त्यस्ता सदस्यहरु मनोनीत हुनेछन् ।

अधिवेशनको पहिलो बैठक भएकाले सोमबार संसदमा प्रतिनिधित्व गर्ने सबै दलका सांसदहरुले धारणा राख्नेछन् । यसमा प्रधानमन्त्री दाहालदेखि ठूलो दलका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपाका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्दनले धारणा राख्नेछन् ।

त्यस्तै सोमबारको बैठकको अन्तिममा तीन जना पूर्वसांसदको निधनप्रति शोक प्रस्ताव पारित हुनेछ । २०४८ सालमा गोरखा २ बाट निर्वाचित मैयाँदेवी श्रेष्ठ, माओवादीबाट २०६४ सालमा ओखलढुंगा २ बाट निर्वाचित बालकृष्ण ढुंगेल र २०७० सालको संविधानसभा चुनावमा कांग्रेसको समानुपातिक तर्फबाट सांसद बनेका झुलबहादुर आलेको निधनप्रति सदनले शोक प्रस्ताव पारित गरेर बैठक सकिनेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट