भागेर अर्को निर्वाचन क्षेत्रमा जाने छैन : पाण्डे

भरतपुर, २३ असोज ।
पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् । प्रस्तावकमा उमाकान्त पौडेल र समर्थकमा गणेश बराल रहेका छन् । २०७० सालमा पाण्डे तत्कालिन चितवन–५ बाट संविधानसभा सदस्य निर्वाचित भएका थिए ।

साविक ५ नम्बर क्षेत्र हाल चितवन–३ मा पर्छ । २०७४ को चुनावमा पाण्डेले ३८ हजार ९ सय ३५ मत ल्याएका थिए । एमाले र माओवादी केन्द्र एकता गर्ने गरी बनेको वामगठबन्धनसँग उनी पराजित भएका थिए । यसपाली प्रचण्ड गोर्खा–२ मा गएपछि पाण्डेलाई चुनाव जित्न सहज हुने विश्लेषण गरिएको छ ।

पाण्डे पूर्व वन तथा भूसंरक्षण मन्त्री समेत हुन् । उम्मेदवारी दर्ता गरिसकेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै पूर्वमन्त्री पाण्डेले जनतासँग गरेका वाचाहरु पूरा गर्न नसकेर आँफू कहिल्यै नभाग्ने बताए । “जनतालाई आश्वासन होइन, विकासको लहर कसरी आउने रहेछ काम गरेर देखाउन चाहन्छु”, उनले भने, “जनतासँग भागेर निर्वाचन क्षेत्र खोज्दै आगामी चुनावमा भाग्ने काम हुनेछैन, सधैँ जनताका दुखसुखमा रहनेछु ।” उनले चितवन–३ लाई विकासको नमुना क्षेत्र बनाउन दीर्घकालिन महत्वका विकास योजनाहरु कार्यान्वयन गर्न लागिपर्ने बताए ।

चितवन–३ मा भरतपुर महानगरका १९ वडा र माडी नगरपालिका पर्छ । क्षेत्र नम्बर ३ मा १ लाख ४४ हजार २ सय ८३ मतदाता छन् । राप्रपाबाट प्रदेश ३(क) मा बागमती प्रदेश उपाध्यक्ष गिरबहादुर तामाङ (ज्ञानजंग लामा) र ३ (ख) मा सहमहामन्त्री तथा निवर्तमान प्रदेश सांसद रिना गुरुङले उम्मेदवारी दर्ता गरेका छन् ।

यसैबीच, राप्रपाले चितवनका सबै निर्वाचन क्षेत्रहरुमा उम्मेदवारी दिएको छ । राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकालले चुनावी तालमेलका लागि प्रयास गर्ने गरी उम्मेदवारी दिइएको बताए । “चुनावी तालमेल भए हामी सहयोग गर्न तयार छौँ”, उनले भने, “सबै क्षेत्रमा चुनावी तालमेल हुन नसके हामी सबै दलसँग मित्रवत प्रतिस्पर्धामा उत्रनेछौँ ।”

राप्रपाबाट प्रतिनिधिसभा सदस्यका लागि चितवन–१ बाट राप्रपा बागमती प्रदेशका सहसचिव मधुपकुमार भट्टराई माधव, चितवन–२ बाट युवा व्यवसायी तथा नेता रविन अधिकारीले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै प्रदेशसभा सदस्यका लागि चितवन १(क) मा जिल्लाका पूर्वअध्यक्ष तथा केन्द्रीय सदस्य रामहरि कँडेल, १(ख) मा क्षेत्रीय अध्यक्ष बलराम खनालले उम्मेदवारी दिएका छन् ।

यस्तै चितवन २(क) मा नेता रुक्माङगत पोखरेल, २ (ख)मा किसान संगठनका केन्द्रीय सदस्य तथा उपाध्यक्ष जगदीश्व्र अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । राप्रपा र एमालेबीच चुनावी तालमेल गर्ने भनिएपनि मनोनयन दर्ताकै दिनमा भने सहमति हुन सकेको छैन ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट