भरतपुर, २३ असोज ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले चितवनका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने भएको छ । राप्रपा चितवनका प्रवक्ता राजु भण्डारीका अनुसार प्रतिनिधिसभा सदस्यका लागि चितवन क्षेत्र नम्बर ३ मा पूर्वमन्त्री तथा केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे, चितवन–१ मा राप्रपा बागमती प्रदेशका सहसचिव मधुपकुमार भट्टराई माधव र चितवन–२ मा सफल युवा व्यवसायी तथा राप्रपा नेता रविन अधिकारीले उम्मेदवारी दर्ता गर्दै छन् ।
राप्रपाको बलियो जनाधार रहेको चितवन–३ मा प्रदेशतर्फ ३(क) मा राप्रपा बागमती प्रदेश उपाध्यक्ष गिरबहादुर तामाङ (ज्ञानजंग लामा) र ३ (ख)मा राप्रपा सहमहामन्त्री तथा निवर्तमान प्रदेश सांसद रिना गुरुङले उम्मेदवारी दिँदै छन् । यस्तै चितवन १ (क) मा राप्रपा चितवनका पूर्वअध्यक्ष तथा केन्द्रीय सदस्य रामहरि कँडेल, २(ख) मा राप्रपा क्षेत्र नम्बर १ का क्षेत्रीय अध्यक्ष बलराम खनालले उम्मेदवारी दिँदै छन् ।
यस्तै चितवन २ (ख) मा राप्रपाको किसान संगठनका केन्द्रीय सदस्य जगदीश्वर अधिकारीले उम्मेदवारी दिँदै छन् । चितवन २(क) मा उम्मेदवारको नाम टुंग्याउन बाँकी रहेको छ । दोस्रो संविधानसभा सदस्य निर्वाचन २०७० मा तत्कालिन चितवन–५ बाट निर्वाचित विक्रम पाण्डे २ पटक मन्त्री समेत बनिसकेका छन् ।
सत्तागठबन्धनबाट चितवन–३ मा माओवादी अध्यक्ष प्रचण्डलाई उम्मेदवार बनाउने चर्चा चलेपनि अन्तिम चरणमा आएर उनी गोर्खा–२ बाट उम्मेदवार बन्ने भएपछि राप्रपालाई चुनाव जित्न सहज हुने देखिएको छ । संविधानसभा सदस्य तथा मन्त्रीहुँदा राप्रपा उपाध्यक्ष पाण्डेले चितवन–३ मा दीर्घकालिन महत्वका विकास निर्माणका कामहरु गरेकाले जनतामाझ लोकप्रिय नेता भएकाले चुनाव जित निश्चित भएको राप्रपाको दाबी छ । पाण्डे लगातार एउटै निर्वाचन क्षेत्रबाट चुनाव लड्दै आएका छन् । उम्मेदवारी दर्ता गर्न पूर्वमन्त्री पाण्डे बिहानै चितवन आएका छन् ।





