भरतपुर, २३ असोज
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज मनोनयनपत्र दर्ता गरिँदै छ । देशभरबाट १६५ प्रतिनिधिसभा सदस्य र ३३० प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता आज गर्न लागिएको हो । समानुपातिकका लागि भने दलहरूले सूची बुझाइसकेका छन् ।
आज दलहरूले बिहान १० देखि अपराह्न ५ बजेभित्र उम्मेदवाहरुले मनोनयनपत्र निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्ने छ।
उम्मेदवारीसँगै उम्मेदवारले धरौटी पनि बुझाउनुपर्छ । निर्वाचन आयोगले प्रतिनिधिसभा उम्मेदवारका लागि १० हजार रूपैयाँ र प्रदेशसभाका लागि पाँच हजार रुपैयाँ धरौटी तोकेको छ। उम्मेदवारले सम्पत्ति विवरण पनि पेश गर्नुपर्नेछ।प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको निर्देशिका अनुसार मनोनयनपत्र पेश गर्दा एक जना प्रस्तावक एक जना समर्थकको सही छाप आयोगलाई मनोयनपत्रसँगै बुझाउनुपर्नेछ।
प्रस्तावक र समर्थक सम्बन्धित निर्वाचन क्षेत्रकै हुनुपर्नेछ। मनोनयत्रपत्रसँगे प्रस्तावक र समर्थकको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा वा मतदाता परिचपत्र पेश गर्नुपर्नेछ। उम्मेदवारले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाताको परिचयपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ।





