काठमाडौं, १९ असोज ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
नेपालीहरूको महान् चाड बडादसैँ २०७९ को अवसरमा शुभकामना दिँदै उहाँले सरकारको यो प्रयासमा सबै राजनीतिक दल, आम नागरिक सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, नागरिक समाज र सञ्चार क्षेत्रको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे ।
आवधिक निर्वाचनले लोकतन्त्रलाई मजबुत, सक्षम र सबल बनाउने उनको भनाइ छ । प्रधानमन्त्री देउवाले ताजा निर्वाचनबाट सरकार गठन भएपछि संविधानमा उल्लेख भएका नीति तथा कार्यक्रमहरू थप प्रभावकारी ढङ्गले कार्यान्वयन भई मुलुकमा जनताको चाहना र अपेक्षा बमोजिम विकास र समृद्धिका कार्यहरूले गति लिने विश्वास व्यक्त गरेका छन्।
उनले नेपालीहरूको महान् चाड बडादसैँ २०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना गरेका छन्।
प्रधानमन्त्री देउवाले चाडपर्व समाजका अमूल्य सांस्कृतिक धरोहर भएको उल्लेख गर्दै धार्मिक सांस्कृतिक चाडपर्वहरूले हाम्रो समाजलाई गतिशील, जीवन्त र एकताबद्ध बनाउने बताए । साथै उनले समाजलाई सत्य धर्म, न्याय र सदाचारको मार्गमा अघि बढाउन हामीलाई प्रेरणा प्रदान गर्दै आएका चाड पर्वलाई शिष्ट र संयमित रूपमा मनाउँदै हाम्रो सांस्कृतिक परम्परा तथा मूल्य मान्यतालाई अक्षुण्ण र जीवन्त राख्न सबैमा आग्रह गरे ।
असत्यमाथि सत्य, अन्यायमाथि न्याय र दुराचारमाथि सदाचार र सद्व्यवहारको विजयको पर्वका रूपमा मनाइने यो चाड नेपालीहरूबीच सांस्कृतिक एकता र सद्भाव प्रवद्र्धन गर्ने विशिष्ट पर्वको रूपमा परापूर्वकालदेखि मनाउँदै आइएको छ ।
दसैँलगायतका हाम्रा सांस्कृतिक पर्वहरूले नेपाली जनताबीच पारस्परिक प्रेम, स्नेह, सद्भाव, भातृत्व, एकता र सहयोगी भावनालाई निरन्तर अघि बढाउन विशिष्ट योगदान पुयाउँदै आएको बताए ।
“बहुधार्मिक, बहुजातीय एवं बहुसांस्कृतिक नेपालका सबै जाति र समुदायको भाषा, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास गर्दै राष्ट्रिय एकता र सद्भावलाई सुदृढ तुल्याउन सरकार प्रतिवद्ध छ । सबै जाति, भाषा, संस्कृति र सभ्यताहरुको संरक्षण र विकासबाट मुलुकको राष्ट्रिय एकता थप मजबुत हुन्छ” प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
दसैँलगत्तै तिहार, नेपाल संवत्, छठ र ल्होसार जस्ता अरू महत्वपूर्ण सांस्कृतिक, धार्मिक पर्वहरू पनि मनाइने क्रममा छन् ।
उनले कोभिड– १९ को सङ्क्रमण कायमै रहेको र डेङ्गुको प्रकोप बढ्दै गइरहेको वर्तमान सन्दर्भमा स्वास्थ्य सुरक्षाका आधारभूत मापदण्डहरूलाई समेत पालना गर्दै आवश्यक सजगता र सतर्कतासहित चाडपर्वहरू मनाउन सबैलाई अनुरोध गरेका छन्।
प्रधानमन्त्री देउवाले यसवर्षको बडादसैँले सबै नेपालीको जीवनमा सुख, शान्ति र समृद्धि ल्याउन तथा सत्य र न्यायको मार्गमा अविचलित रूपमा अघि बढ्न सबैलाई उत्प्रेरित गरोस् भन्दै विजया दशमीको शुभकामना व्यक्त गरेका छन् ।





