भरतपुर, १० असोज ।
कवि रीता अधिकारी ऋतुको एकल कविता वाचन गरिएको छ । नेपाली लेखक संघ कास्कीकी उपाध्यक्ष अधिकारीले सोमबार चितवन साहित्य परिषद् भवनमा भएको कार्यक्रममा एक दर्जन कविता सुनाइन् । अधिकारीले दुई चरणमा गरेर ६/६ वटा कविता सुनाइन् ।
कार्यक्रममा अधिकारीको कवितासङ्ग्रह `सेल्फ प्रोटेट´माथि परिचर्चा पनि गरिएको थियो । डाक्टर एकनारायण पौड्यालले कृतिमाथि समीक्षात्मक टिप्पणी राख्दै कविताहरूमा नारी संवेदना र जागरणका बिम्बहरू रहेको बताए । कवि गणेश श्रमण र उदय अधिकारीले पाठकीय टिप्पणी राखेका थिए ।
नेपाली लेखक संघ कास्की शाखाका अध्यक्ष सञ्जीव पौडेलले कवि अधिकारीको कविता पढेर कार्यक्रमलाई सुरू गरिएको थियो । कार्यक्रममा उपस्थित अतिथिलाई कवि शान्ति शर्माले स्वागत गरेकी थिइन् । चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनालले शुभकामना मन्तव्य राखेको कार्यक्रमलाई नेपाली लेखक संघ चितवन शाखाका अध्यक्ष सुरेन्द्र अस्तफलले अध्यक्षता गरेका थिए ।




