आगामी मंसिर ४ गते हुने चुनावले देशलाई सुखी, समृद्ध, समुन्नत र अग्रगामी मार्गमा अगाडि बढाउने कि यथास्थितिमा रहन दिने भन्ने दिशानिर्देश गर्नेछ । तसर्थ यसपटक हुन गैरहेको चुनाव महत्वपूर्ण छ । नेपालमा अहिले सामन्ती राज्य व्यवस्थाको ठाउँमा गणतन्त्र र दलविहीन पञ्चायती व्यवस्थाको ठाउँमा दलीय संसदीय प्रणाली विद्यमान छ । राजतन्त्रको अन्त्य गरेर गणतन्त्र ल्याउने ऐतिहासिक परिघटना यो कुनै चानेचुने विषय होइन । राजनैतिक पार्टीहरुकै नेतृत्वमा जनताको अभुतपूर्व सहभागिताबाट मात्र यो सम्भव भएको हो ।
अहिले पछिल्लो परिवर्तनलाई आत्मसात नगरेका विभिन्न प्रवृत्तिहरु विभिन्न रुपमा देखा पर्न थालेका छन् । विगतदेखिको राजनीतिक परिवेश विश्लेषण गर्दा नेपालमा हरेक १० वर्षमा केही नयाँ कोर्षमा गएको वा नयाँ गन्तव्यको अवस्था पार गरेको पाइन्छ । राजनैतिक परिस्थितिमा बदलाव तलमाथि भैरहने विषय नै हो । सतहमा देखा परेका कतिपय विकृति, विसंगतिलाई अगाडि सारेर सबै कुरा नेगेटिव वेबाट मात्र भनियो भने यो कुनै मानेमा सही भन्न सकिँदैन । नेपालको पछिल्लो परिवर्तनमा अनेकौँ प्रकारका योगदान, बलिदान नेपालका कम्युनिष्ट र कांग्रेसबाट भएको छ । यो परिवर्तनको अगुवाइ अर्थात् नेतृत्व पनि उनीहरुले नै गरेका हुन् ।
यसबीचमा बहुदल प्राप्त र गणतन्त्र प्राप्तिपछिका कैयौँ र असाधारण उपलब्धिहरुलाई केही नगरिएको कुनै परिवर्तन नभएका खालको अतिरञ्जित टिप्पणी बाहिर आइरहेका छन् । महत्वपूर्ण उपलब्धिहरु भएका भए पनि कतिपय सन्दर्भमा क्रान्ति सम्पन्न गर्नमा सफल हुन सक्ने दलहरुको राजकीय जिम्मेवारीमा पर्याप्त सफलता हासिल गर्न नसकेको विषयलाई मात्र आधार बनाएर प्रतिकृयावादीहरुले नकारात्मक जनमत निर्माण गर्न लागिरहेका छन् । खासगरी अनुदार राजावादीहरु बढी सल्बलाइरहेको देखिन्छ । धमिलो पानीमा माछा मार्न उद्दत रहेको देखिएको छ । केही व्यक्तित्वहरु अहिले सतहमा देखा परेका छन् । जस्तो कि रविन्द्र मिश्र, रवि लामिछाने, चन्द्रकान्त ज्ञवाली आदि । झिनो मसिनो स्वरमा भए पनि कुनै न कुनै प्रकारको राजसंस्थाको वकालत गर्न थालेको अवस्था छ । राजेन्द्र लिङ्देनले नेतृत्व गरेको पार्टी त राजतन्त्रको पुनर्बहालीको पक्षमा खुलेरै लागेको छ ।
संसारभरि नै आफ्नो इसारामा चल्ने राजनीतिक नेतृत्व राख्न लागिपर्ने साम्राज्यवादी अमेरिका र विस्तारवादी भारत निरन्तर विभिन्न ढंगले नेपालको आन्तरिक राजनीतिमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आफ्नो भूमिका बढाइरहेका छन् । अहिले उनीहरुको सकृयता झन् बढेको छ । विभिन्न ढंगले नेपाली भूमि हडप्न चाहने भारत चुच्चे नक्साको विषयमा केपी ओलीको अडानबाट झस्केको छ । नेपाललाई सैन्य अखडा बनाउने र चीन घेर्ने रणनीति अन्तर्गत एमसिसी जस्ता माध्यम अमेरिकाले बनाएको छ । नेपालमा राष्ट्रिय स्वाभिमान र राष्ट्रियताको पक्षधर शक्तिलाई अघि बढ्न नदिन अनेक चाल चलिरहेका छन् । अहिले शक्तिकेन्द्रहरुकोे चाल केपी ओलीको नेतृत्वमा नेकपा एमालेलाई अगाडि बढ्न नदिनु हो । नेपालमा गठबन्धन नामको खिचडी यही परिस्थिति र परिवेशको उपजको रुपमा विद्यमान छ । झट्ट हेर्दा यो अप्र्राकृतिक अस्वाभाविक गठबन्धन कहीँ नभएको हाडी गाउँको जात्रा जस्तो छ ।
अवस्था परिवर्तनपछि आएको गणतन्त्र र नयाँ संविधानबाट हामीले एउटा निरंकुश निर्दलीय व्यवस्थाको ठाउँमा वाक तथा प्रकाशनको स्वतन्त्रता पाएका छौँ । जनता सार्वभौम बनेको अवस्था छ आज । विकास र समृद्धिले गति लिएको छ । शिक्षा र स्वास्थ्यमा निकेै प्रगति भएको छ । गाउँगाउँमा बाटो, बत्ती, पानी सर्वसुलभ भएको छ । विभिन्न संवैधानिक अंगमात्र नभएर राष्ट्रको सम्मानित संस्थामाथि मनलाग्दी बोलिरहेका छन् आज मानिसहरुले । विगतको पंचायतको शासनमा यसरी राष्ट्र प्रमुखको विरोधमा कोही बोल्न, लेख्न के सक्तथ्यो ? हिजोको दिन व्यहोरेर आएको ठूलो संख्या आज पनि छ । यसर्थ हामीले हिजो र आजको फरक छर्लङ्ग भन्न र देख्न सक्छौं ।
पार्टीहरुका विभिन्न कमजोरीका कारण उनीहरुले जनताको तर्फबाट आएका तमाम आशा र भरोसालाई पूरा गर्न नसकेकै हो । काम जति भए पनि जनअपेक्षित काम हुन सकेको छैन । पार्टीहरु यो सवालमा चुकेकै हुन् ।
पछिल्लो समयमा त झन् जनताको मन भाँचिएको छ । जनतामा व्यापक मात्रामा निराशा छाएको छ । नयाँ जेनेरेशनको अपेक्षा र माग अनुरुप काम अगाडि बढाउन जरुरी छ ।
अनावश्यक रुपमा संख्यात्मक बढोत्तरी गरेर बनाइएका र कतिपय सन्दर्भमा अनावश्यक नै देखिने संवेैधानिक संरचना जनतामा खास गरी युवाहरुमा अलोकप्रिय बनेका छन् । सांसद संख्या ठूलो छ, घटाउनु पर्दछ । प्रदेश खारेज गर्नु पर्दछ । संवैधानिक निकाय बढी छन् । यी सब हाम्रो जस्तो देशले धान्न सक्दैन भन्ने आवाज उठेको छ । भन्सार, अन्तशुल्क करले ढाड सेकेको छ । अन्य देशको तुलनामा चर्काे गरेर कर उठाइए पनि सााधारण खर्च धान्न नसक्ने स्थिति भयोे भनेर सरोकारवालाहरुको प्रतिकृया आइरहेको छ । भनिरहेका छन् नेपालको नियति श्रीलंकाको जस्तो नहोस्, असफल राष्ट्र बन्ने खतरा छ ।
आउँदो चुनावले एउटा जीवन्त जनादेश दिन आवश्यक छ । जनतामा व्याप्त निराशालाई समाधान गरेर एउटा दीगो र स्थिर सरकार दिन सकिएन भने देश अप्ठेरोमा पर्न सक्नेतर्फ सबै गम्भीर बन्न जरुरी छ । दशबर्षे अवधि सानो होइन । यस पटकको अवधि दश वर्षभन्दा बढी भइसक्यो । अझै संक्रमणकाल छ भनेर अल्मलिने वा अल्मल्याउन खोज्ने छुट अब कसैलाई छैन र हुनु हुँदैन । यी विविध परिवेशको बीचमा हुन गइरहेको निर्वाचन अघिपछि गरिएका वा हुने निर्वाचनभन्दा पृथक छ । यो वास्तवमा एउटा महाभारत हो । यो निर्वाचनमा नेपाली जनताहरुलाई दुइ विकल्प छन्, एउटा रोज्नु पर्ने भएको छ ।
एकल पार्टीको दह्रो, राजनीतिमा स्थिर सरकार छनौट गर्ने कि विभिन्न पार्टी सम्मिलित गठबन्धन रोज्ने ? आगामी निर्वाचनले यो कुराको फैसला गर्नेछ । यदि यो चुनावले सही निर्णय गर्न सक्यो भने देश क्रमशः लयमा फर्किने छ । यदि सही निर्णय हुन सकेन भने देश एउटा अनपेक्षित भुमरीमा फस्नेछ ।
खासगरी हरेक परिवर्तनको लागि संवाहक युवा शक्ति संकटको दोबाटोमा अड्केको देशलाई सही गन्तव्यमा अग्रगामी बाटोमा लैजानका लागि बढो सुझबुझ र कुनै गलत मनसायबाट नभएर दृढताका साथ उभिन जरुरी छ ।
अहिले भर्खरै बालेन, हर्क वा अरु कुनै लामिछाने, चन्द्रकान्त वा लिङ्देनको पार्टी विकल्प हुने अवस्था देखिँदैन । त्यसैले वर्तमानमा नेकपा एमालेको नेतृत्वको राजनैतिक शक्ति रोज्ने कि नेपाली काँग्रेससहितको गठबन्धन रोज्ने ? आगामी प्रधानमन्त्री केपी ओली हुने कि गठबन्धनको तर्फबाट शेरबहादुर वा अरु कोही हुने ? आजको राजनीतिको चुरो कुरो यही नै हो ।
एमालेले नेतृत्व सर्वसम्मत गरिसकेको छ । आफ्नो उद्देश्य, लक्ष्य किटान भैसकेको छ भने अर्काेतर्फ गठबन्धनको तर्फबाट निर्णय आएको छैन । जनताले निर्क्यौल गर्दा नीति र नेतृत्वको विषय नै प्रमुख हो । यसरी हेर्दा नेकपा एमालेले समाजवाद उन्मुख राष्ट्रिय स्वाधीनता, सुखी नेपाली समृद्ध नेपाल र सन्तुलित परराष्ट्रनीति सहितको विचार अगाडि सारेको छ । राष्ट्रियताका सवालमा दह्रो अडानका साथमा अघि बढ्न सक्ने नेताको रुपमा केपी ओलीको नेतृत्वसहितको शक्ति एकातर्फ छ । अर्काेतर्फ फरकफरक वैचारिक धार सहितका पार्टीहरु रहेको गठबन्धनमा प्रमुख पार्टी भएकोले नेपाली कांग्रेसको वैचारिक नीतिको बाहुल्यता ( गठबन्धनको साझा अवधारणा भनिएपनि ) रहने छ, र सम्भवत नेतृत्व नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नै हुनेछ । सबै विषय पारदर्शी छन् । आगामी निर्वाचनले देशको निम्ति उपयुक्त जनादेश प्रदान गरोस्, यही अपेक्षा गरौँ ।





