कायाकैरनका सम्पादक रिजालसहित ११ स्रष्टालाई हाम्राे मझेरी सम्मान

भरतपुर, १० असोज ।
भरतपुरमा एउटा साहित्यिक घराना छ– हाम्रो मझेरी साहित्य प्रतिष्ठान । पुष्प अधिकारी अञ्जलि यो संस्थाका अध्यक्ष हुन् । उनका जेठो छोरा सुवास प्रतिष्ठानका सचिव छन् । प्रतिष्ठानमा सदस्य अरू पनि छन् । तर, मूलतः प्रतिष्ठान धान्ने यही अधिकारी परिवारले हो ।

२०५७ सालमा जिल्ला प्रशासन कार्यालय चितवनमा दर्ता भएयता हाम्रो मझेरी साहित्य प्रतिष्ठान निरन्तर साहित्यिक गतिविधिमा क्रियाशील छ । प्रतिष्ठानले साहित्य सम्बर्द्धन र प्रबर्द्धनका क्षेत्रमा काम गरिरहेको छ । “हामीले दुई पन्ने सादा पत्रिका निकालेर सुरु गरेका हौँ”, प्रतिष्ठानका सचिव सुवास भन्छन्– “त्यो बेला हुलाकमार्फत देशभर पत्रिका पठाइन्थ्यो, वार्षिक ग्राहक बनाइन्थ्यो ।”
यही पत्रिकाको इतिहासले सोमबार २३ वर्ष पार गरेको छ । प्रतिष्ठानले भरतपुरमा एक कार्यक्रम गरी २३ औँ वार्षिकोत्सव मनायो । उक्त अवसरमा देश विदेशका स्रष्टाहरू सम्मानित भए । प्रतिष्ठानले ११ जना स्रष्टालाई विभिन्न सम्मान दिएको हो । “दुई पन्ने पत्रिकाबाट सुरु भएको यात्रा आज रंगिन किताब निकाल्नेसम्म पुगेको छ”, वार्षिकोत्सव विशेष कार्यक्रम सञ्चालन गर्ने क्रममा सचिव सुवासले ‘हाम्रो मझेरी’को ५९ औँ अंक विमोचनको सन्दर्भमा भने– “देश विदेशका पाठक र साहित्यसाधकको निरन्तर साथले हामी सफल भएका छौँ ।”

हुन पनि हो, त्यो अवस्थाबाट आएको मझेरीले हरेक वर्ष देशका फरक–फरक जिल्लाबाट मात्रै होइन, भारतका कैयौँ नेपालीभाषी स्रष्टालाई पनि सम्मान गर्छ । सोमबार सम्मानित हुनेमा २ जना भारतीय छन् । गान्तोक, सिक्किमकी सीता शर्मा र दार्जिलिङकी सरस्वती शर्मा क्षेत्रीलाई सम्मान गरिएको हो ।
उक्त कार्यक्रममा कायाकैरन दैनिकका सम्पादक विनोदबाबु रिजाल पनि सम्मानित भए । झण्डै दुई दशकदेखि पत्रिकारितामा क्रियाशील रिजाललाई ‘हाम्रो मझेरी युवा पत्रकारिता सम्मान–२०७९’ दिइएको हो । रिजालको हालै `एकान्तवास´ पुस्तक प्रकाशनमा आएको छ ।

सम्मानित अन्य स्रस्टाहरूमा चितवनबाट समीक्षक उदय अधिकारी र गजलकार विनोद अनुज, मदन पुरस्कार विजेता रामलाल जोशी कैलाली, संगीतकार विशाल ढकाल नवलपरासी(बर्दघाट सुस्तापूर्व), केशव आचार्य झापा, सुमन घिमिरे सर्लाही, सुशीला पौडेल काठमाडौं, विश्वप्रेम अधिकारी स्याङ्जा, सावित्री गिरी कास्की र माधव पोखरेल मकवानपुर रहेका छन् । नेपाली भाषा, साहित्य, कला–संस्कृति, पत्रकारिता गीतसंगीतलगायतका विधामा साधनारत स्रस्टालाई सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी अञ्जलीले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष वरिष्ठ कवि प्राडा भीम खतिवडालाई ‘हाम्रो मझेरी साहित्य शिरोमणि’ उपाधिबाट सम्मानित गरिएको छ । त्यस्तै वार्षिकोत्सव समारोहमै ‘हाम्रो मझेरी’को ५९औँ अंक तथा संयुक्त गजलसङ्ग्रह ‘महफिल ए गजल’को विमोचन गरियो ।
कार्यक्रममा देशभर तथा देशबाहिरबाट आएकासमेत गरी दर्जनौँ स्रष्टाले सिर्जनावाचन गरेका थिए ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि खतिवडाले हाम्रो मझेरीको निरन्तरको साधना लोभलाग्दो भएको बताए । उनले नेपाली भाषा, संस्कृति, साहित्य सम्बर्द्धन र प्रबर्द्धन सबैको पहिलो प्राथमिकतामा पर्नुपर्ने बताए । उनले संस्कृत भाषामा लेखिएको गजल र हिन्दी भाषामा लेखिएको पद्य कविता सुनाएपछि भने– “साहित्यको कुनै भाषा, लिङ्ग, वर्ग, रङ केही पनि हुँदैन, साहित्य साहित्य नै हुन्छ ।”

विशिष्ट अतिथि केशव आचार्य, हयग्रीव आचार्य, किसान प्रेमी, सुरेशकुमार पाण्डे, विवश बलिभद्र कोइरालालगायतले पनि रचना वाचनसहित मन्तव्य व्यक्त गर्दै नेपाली भाषा, साहित्यको संरक्षण र सम्बर्द्धनमा लाग्न प्रेरित गरे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट