भरतपुर, १० असोज ।
बौद्ध धर्म सेवा समितिअन्तर्गत सञ्चालित महाबौद्ध गुम्बा तीनखोलेमा धर्मगुरूको रूपमा कार्यरत धर्मगुरू नर्बु लामा गुरूङको उपचार सेवा सुरू गरिएको छ । आइतबारदेखि पुष्पाञ्जली अस्पतालका डाक्टर विश्वास गुरूङ र फिजियोथेरापिस्ट मदन घिमिरे तथा भरतपुर अस्पतालका डाक्टर गुणराज लोहनीले उपचार गराउन थालेका हुन् ।
केही दिनयता पक्षघातका कारण थला परेका धर्मगुरूको उपचारमा सामाजिक अभियन्ता एवम् तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद चितवनका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर गुरूङ प्रत्यक्षरूपमा जुटिरहेका छन् । उनकै पहलमा उपचार सेवा सुरू गरिएको हो ।
गुरूङले सामाजिक सञ्जालमार्फत धर्मगुरू बचाउ अभिया नै चलाएर आर्थिक संकलन गरिरहेका छन् । अभियान चलाएको पाँच दिनमा पाँच लाख ४० हजार ८०२ रूपैयाँ रकम संकलन भएको अभियन्ता गुरूङले बताए । देश विदेशमा रहेका नेपालीले धेरथोर सहयोग गरिरहेका छन् ।
अहिले नर्बु लामाको उपचार महाबौद्ध गुम्बामै भइरहेको छ । चिकित्सकहरूले बिरामीको निवासमै आएर सेवा दिइरहेका छन् । गुरूङ समुदायको धर्मगुरू लम, क्लेप्री र प्हच्युलाई समस्या पर्दा जस्तोसुकै परिस्थितिमा पनि साथ दिने अभियन्ता गुरूङले बताए । ‘हाम्रो धर्मगुरूहरूलाई बचाउने दायित्व हामी सबैको हो,’ उनले भने, ‘त्यसैले अहिले लामा गुरूलाई समस्या पर्दा मात्रै होइन, क्लेप्री या प्हच्यु जो सुकैलाई समस्या पर्दा पनि म अगाडि उभिन्छु ।’





