व्यवसायसँगै सामाजिक सेवामा चम्किएका जोन कँडेल

भरतपुर, १० असोज ।
चितवनको माटोमा परिचित नाम हो जोन कँडेल । युवा व्यवसायी कँडेलले एक दशकभन्दा लामो समयदेखि भरतपुर–४ धारापानीचोकमा पारिवारिक वातावरणको रेस्टुरेन्ट सञ्चालन गर्दै आइरहेका छन् । विभिन्न परिकारहरुको पारखीका लागि हाइजेनिक खाना दिएर चर्चामा आएको रेस्टुरेन्टका ‘द ग्रीनपार्क’ का सञ्चालक हुन् कँडेल ।

२०५९ सालमा स्नातकोत्तर पढ्नको लागि कँडेल चितवन छाडेर राजधानी हानिए । अध्ययन सकेपछि २०६२ सालतिर कँडेल घर फर्किने कि राजधानीमै कुनै व्यवसाय गर्ने दोधारमा थिए । घर फर्किएर पनि तत्कालै केही पेशा गरिहाल्न कुनै पूर्वतयारी थिएन । राजधानीमा त्यतिबेला ट्युसन कम्प्युटर र ल्याङ्वेज सिक्नेहरुको छुट्टै आकर्षण थियो । अहिले जस्तो अंग्रेजी माध्यममा पढ्नको लागि सहजता र अनुकूलता थिएन । सरकारी स्कुल पढेर आएका विद्यार्थीलाई लक्षित गरेर भाषा कक्षाहरु जताततै खुलेका थिए । जोनको मनमा पनि इन्स्टिच्युट खोल्ने सोच पलायो र शुरु गरे डिल्लीबजारमा कम्प्युटर र ट्युसन पढाउने इन्स्टिच्युट ।

इन्स्टिच्युट सञ्चालनमै थियो । विद्यार्थीहरुको चाप बढ्दै थियो। जोन पनि खुशी थिए । त्यतिकैमा त्यहीँ स्कुलमा पढाउने शिक्षक साथीहरु र स्थानीयहरुको टीम बनाएर एउटा सहकारी खोल्ने योजना बन्यो । कँडेलकै नेतृत्वमा सामूहिक लगानीमा सहकारी पनि खुल्यो । सहकारीका ‘सिइयो’ भए कँडेल। सहकारीको उद्देश्य पुँजी जम्मा गरेर कुनै थप व्यवसाय गर्ने नै थियो । जोनमा आत्मविश्वास थियो स्वदेशमै लगानी गरेर मिहिनेत गर्नसकेमा विदेश गएर कमाउने जति पैसा आफ्नै ठाउँमा कमाइन्छ भन्ने । त्यही सोचले उनले सोही भवनको ग्राउन्ड फ्लोरमा क्याफे सञ्चालन गरे । क्याफेको नाम जुराऐ ‘फ्रेन्च द क्याफे’ ।

एकै भवनमा इन्स्टिच्युट, सहकारी र कफी सप मज्जाले चलिरहेकै थियो । तर भरतपुरबाट गएको साथीहरुको फोनकलले जोनको बाटो राजधानीबाट गृहनगरतर्फ मोडियो । ‘तपाईंको जग्गा ‘ग्रीनरी’ छ । हामी संरचना बनाउँछौँ । चितवन आउनुस्, मिलेर गाउँमै सँगै व्यवसाय गरौँ ।’ उनले साथीको वचन हार्न सकेनन् । उनलाई आफ्नै माटोले तान्यो । अन्ततः उनले चलिरहेको क्याफे बेचे । सहकारी छोडे र इन्स्टिच्युट सञ्चालनको जिम्मा साथीहरुलाई दिएर आफू चितवन हानिए । त्यही यात्राले भरतपुर–४ मा जन्मियो ‘द ग्रीनपार्क’ ।

सुरुमा गाउँकै छ जना साथीहरु मिलेर ग्रीनपार्क सञ्चालन गर्ने कुरा अगाडि बढ्यो । जग्गा जोनको, आर्थिक लगानी पाँच जना साथीहरुको । हरियाली वातरवरणमा ‘इको फ्रेन्डली’ संरचना बनाउने उनीहरुको उद्देश्य बन्यो । कंक्रिट संरचना छाडेर ग्रिनरी जग्गामा बाँसको कन्सेप्ट उनीहरुले अघि सारे ।

२०६८ सालमा ७४ लाख सामूहिक लगानीमा होटल सञ्चालनमा त आयो तर साथीहरुबाट उचित व्यवस्थापन नहुँदा होटलले सन्तोषजनक प्रतिफल हात पार्न सकेन । यस्तो अवस्थामा कँडेललाई साथीहरुबाट होटल सञ्चालनको नेतृत्व लिनका लागि प्रस्ताव आयो । उनले यो अवसरलाई खेर जान दिएनन् । व्यवसाय सञ्चालन गरेको ६ महिनामै साथीहरुले हार खाएर छाडेको व्यवसायलाई उनले सफलताको मुकाम दिएका छन् ।
‘म मेनु र फ्यामिली टार्गेट गरेर अगाडि बढेँ, त्यसैले आज सफल छु’ उनले भने। होटलमा कँडेलले १२ जनालाई रोजगारी दिएका छन् । एक्लै सञ्चालन गर्न थालेपछि १५ लाख लगानी थपेको बताउने उनी त्यसको प्रतिफलमा अहिले सन्तोष मान्छन् ।

कँडेल ग्राहकको सन्तुष्टिलाई प्राथमिकतामा राख्न सकेको कारण सफलता पाएको बताउँछन् । ‘रेस्टुरेन्टमा खाना–खाजा खायो भने बिरामी हुन्छ भन्ने भनाइ चिर्नको लागि मैले हाइजेनिक खानामा ध्यान दिएँ’ उनले भने, ‘व्यक्तिपिच्छे जिब्रोको स्वाद अलगअलग हुन्छ । सस्तोभन्दा पनि गुणस्तरीय कच्चापदार्थ किनेर ग्राहकलाई सन्तुष्टि दिइरहेको छु ।’
ग्राहकहरु महँगो भयो भन्ने गुनासो गर्छन् नि भन्ने प्रश्नमा कँडेल भन्छन् ‘राज्यले लगाउने असमान र बाध्यकारी नियमले पनि चपेटामा परेको छु । एकै किसिमको व्यवसायमा कसैलाई प्यानमा दर्ता दिने र कसैलाई भ्याटमा जान बाध्य पारिएको छ । मेरो व्यवसाय भ्याटमा छ । भ्याट तिर्ने ग्राहकले नै हो । प्यानमा दर्ता हुने व्यवसायीले केही सस्तोमा सेवा दिन सक्छन्।’
‘म व्यवसायी होइन, त्यसैले मलाई गाह्रो भएको छ । मेरा यस्ता सेवाग्राहीहरु छन् जो बच्चाको लागि हाइजेनिक खाना खुवाउनको लागि रत्ननगर र गैँडाकोटदेखि यहाँ आउँछन्’ कँडेलले अफ्नो सन्तुष्टि पोखे । रेस्टुरेन्टमा जाने ग्राहकहरुले सयभन्दा बढी प्रकारका परिकारहरुको स्वाद लिन सक्ने सेवा आफूले दिइराखेको उनी बताउँछन् ।

उनले आफ्नो रेष्टुरेन्टमा पठन सँस्कृतिलाई पनि प्रबर्द्धन गरिराखेका छन् । उनी आफै
पनि किताबप्रेमी छन् । एकान्तमा बसेर पढ्न, लेख्न रुचाउने स्वभाव भएका पाठकहरुको लागि खानाका स्वादसंगै रुचि अनुसारको पुस्तक पढेर रमाउन सक्ने वातावरण सिर्जना गरेको कँडेल दाबी गर्छन् ।

व्यवसायबाटै सामाजिक सेवा

व्यवसायसँगै जोन सामाजिक सेवामा पनि उत्तिकै सक्रिय छन् । उनले आफ्नो व्यवसायको केही हिस्सालाई सामाजिक सेवामा खर्चिने नियम नै बनाएका छन् ।
नौ वर्षदेखि उनले केही वस्तुहरुको बिक्रीबाट हुने नाफालाई परोपकारी काममा खर्चिरहेका छन् । चुरोटको बिक्रीबाट आउने फाइदा प्रतिखिल्ली दुई रुपैयाँ र पानीको बिक्रीबाट आउने फाइदा प्रतिबोतल तीन रुपैयाँ छुट्याउँछन् उनले सामाजिक सेवाका लागि । चुरोटको बिक्रीबाट जम्मा भएको पैसा अक्सर क्यान्सर पीडित बिरामीहरुको लागि र पानीको बिक्रीबाट हुने फाइदा दुर्गम चेपाङबस्तीका बालबालिकाहरुको लागि विभिन्न संघसंस्थालाई एकमुष्ट उपलब्ध गराउँदै आएको उनी सुनाउँछन् । जसले उनलाई छुट्टै सन्तुष्टि दिलाउँछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट