भरतपुर, १० असोज ।
पश्चिम चितवनको जगतपुरमा स्थानीयले आर्थिक समृद्धिका लागि सामुहिक तरकारी खेती गरेका छन् । ४० वर्ष उमेर समूहका युवाहरूले कृषि क्षेत्रमा लगानी गरि स्वरोजगार बन्ने उद्देश्यले जगतपुर कृषि फर्म प्रालि दर्ता गरी तरकारी खेती गरेका हुन् । बारीमा अहिले बोडी, चिप्लेभिण्डी, चिचिण्डा, सयपत्री फूल र खेतमा धान फलाइएको छ । मौसम अनुसारका तरकारी र अन्न यहाँ फल्ने गरेका छन् ।
अघिल्लो वर्षको कुरा हो, कोरोना संक्रमणले खुकुलो लकडाउन यथावत थियो । लकडाउनका बेलामा नेपालका गाउँठाउँमा युवाहरूले कृषि कर्मलाई आफ्नो पेशा बनाए । जगतपुरका युवाहरू पनि यस्ताखाले अभियानबाट प्रेरित बने । गाउँमा बसेका युवाहरूले विदेशमा रहेका साथीहरूसँग सरसल्लाह गर्न थाले । युवाहरू मिलेर एउटा कोष बनाई कृषि फर्म दर्ता गरी व्यावसायिक किसिमले लागिपर्ने सहमति गरे । सहमति पश्चात् नामावली संकलन गरियो, ५६ जना पुगे । जनही १ लाख उठाउने निर्णय भयो । त्यसपछि विधिवत दर्ता भयो जगतपुर कृषि फर्म प्रालि । यस फर्मका संस्थापक अध्यक्ष राजु पौडेल हुन् । पौडेलको नेतृत्वमा खटिएका टोलीले व्यापक श्रमदान गरेर कृषि क्रान्ति ल्याउनमा सामुहिक रूपमा लागिपरे । 
यो फर्म सामुहिक लगानीको हो । समूहमा अधिकांश लगानीकर्ता भरतपुर–२३ जगतपुरका छन् । केही लगानीकर्ता अन्य वडाका पनि छन् । छरिएर रहेका युवाशक्तिलाई शेयरमार्फत पूँजी निर्माण गर्दै कृषि क्षेत्रमा लगानी गरी रोजगारको सिर्जना गरेर सामाजिक र आर्थिक विकासमा टेवा पुर्याउने यो समूहको उद्देश्य रहेको छ ।
यहाँ अहिले ८ बिघामा खेती गरिएको छ । मौसम अनुसारका तरकारी यहाँ फल्ने गरेका छन् । बारीमा तरकारी र खेतमा धान उत्पादन गरिएको संचालक मुकुन्द चालिसे बताउँछन् । यहि सिजनमा मेवा खेती पनि भयो । मेवाको लागि जमिन छनोट राम्रो नहुँदा मेवाले प्रतिफल दिन सकेन । अन्य तरकारी र खेती राम्रो भए पनि मेवाबाट आम्दानी गर्न असफल भएको संचालक दीपक चालिसेले बताए ।
फर्मबाट यो एक वर्षको अन्तरालमा करिव ३ लाख जतिको तरकारी बिक्रीवितरण गरिएको फर्मका व्यवस्थापक विकास नेपालीले बताए । यहाँ उत्पादन गरेका तरकारी सकेसम्म स्थानीय बजारमा नै खपत गराउने फर्मको उद्देश्य रहेको छ । स्थानीयलाई आवश्यक तरकारी बाहिर गएर किन्न नपर्ने योजना अनुसार फर्मका सदस्य लागिपरेका छन् । यहाँ उत्पादन गरिएको तरकारी काठमाडौंस्थित फ्रेस केटिएमले नियमितरूपमा खरिद गरिरहेको छ । त्यसैगरी नारायणगढको तरकारी बजारमा पनि यहाँका तरकारी पुगेका छन् ।
रोप्ने, मलजल गर्ने, फलाउने, टिप्ने काममा महोत्तरीका मधुकर सिंह, बाराका रामविनय चौधरी र चितवनका गुनबहादुर बिक नियमितरूपमा खटिन्छन् । तरकारी खेतीलाई अझै व्यापकता दिने समूहको लक्ष्य छ । कायाकैरनको स्थलगत रिपोर्टिङका क्रममा भेटिएका संचालकहरू पार्वती चालिसे, बद्री आचार्य र ऋषिराम पौडेलले जग्गा खोजेर २५ बिघामा खेती गर्ने योजना रहेको सुनाए । ‘हामीलाई कृषि ज्ञान केन्द्र भरतपुरले नर्सरी र तरकारी खेतीका लागि अहिलेसम्म २ लाख रुपैयाँ अनुदान दिएको छ । हामीले समूहको सेयर खुलाएर लगानी पनि थप्ने तयारीमा छौँ । कृषि खेतीलाई अझै विस्तार गरेर उत्पादन बढाउने किसिमले लागि पर्ने योजना छ’ अध्यक्ष कृष्णप्रसाद अधिकारीले सुनाए ।
वडा नम्बर २३ का अध्यक्ष दीपक दवाडीले स्थानीय दाजुभाइको कृषिकर्मबाट आफू प्रभावित भएको बताए । ‘लगानी गरेर, श्रमदान गरेर कृषिमा आत्मनिर्भर बन्न खोज्नु सानो कुरा होइन‘, दवाडीले भने, ‘कृषि औजार महँगा छन्, सिंचाइको समस्या छ, बिउबिजन र मल पाउन पनि समस्या छ । र पनि दाजुभाइहरू अहोरात्र खटिइरहनु भएको छ । स्थानीय सरकारबाट हुन सक्ने सहयोगका लागि पहल गरेको छु ।’
लगानीकर्ता सबै कुनै न कुनै माध्यमबाट यो कर्ममा बराबर लागिपरेका छन् । कसरी तरकारी उत्पादन बढाउन सकिन्छ र बजारमा पुर्याउन सकिन्छ भनेर सबैजना हरबखत लागेका छन् । लगानीकर्ता सबैले आफ्नो करेसामा पनि तरकारी गरेका छन् । खेतबारी बाँझो हुन दिएका छैनन् । तरकारीलाई बजारमा पुर्याउन सबैजना लागिपरेको पाइन्छ । सकेसम्म गाउँमै पनि खपत गराउन सबैजना लागिपरेका छन् । लगानीकर्तालाई आवश्यक पर्दा आफैले किन्ने प्रचलन पनि यहाँ छ । कृषि फर्मको फेसबुक र ट्विटर एकाउन्टबाट पनि जानकारी गराएर तरकारीको बजारीकरण गरिएको छ ।





