भरतपुर, २८ भदौ ।
कालिका एफएमले २०औं वार्षिकोत्सवको अवसरमा महिनाव्यापी कार्यक्रम गर्ने भएको छ । एफएम परिसरमा मंगलबार आयोजित पत्रकार सम्मेलन गरि विगतका कार्यक्रमलाई निरन्तरता दिँदै, केहि नयाँ कार्यक्रम गर्ने जनाएको छ ।
स्थापनाकाल देखिनै कालिका एफएमले भव्य र उल्लासमय वातावरणमा वार्षिकोत्सवका कार्यक्रम गर्दै आइरहेको छ ।
महिनाव्यापी रुपमा आयोजित वार्षिक उत्सवका कार्यक्रमहरुमा स्रोता लक्षित, समाजका प्रवुद्ध व्यक्तिहरुको सहभागिता रहने खालका कार्यक्रमहरु रहेका छन् । समाज र राष्ट्रको हितमा निरन्तर आफ्ना कार्यक्रम र सूचनाहरु प्रसारण गर्दै आईरहेको मिडिया आगामी दिनमा पनि कटिबद्ध भई लाग्ने कालिका एफएमका निर्देशक दीपक पौडेलले बताए ।
विगतमा कालिका मिडियाले भाषा, कला, धर्म, संस्कृतिको क्षेत्रमा गरेका राष्ट्रिय स्तरका बृहत्त कार्यक्रमहरुले भिन्न पहिचान र अस्तित्व निर्माण गरेको छ । सोको निरन्तरताका लागि यसपाली पनि सोहि अनुरुपका कार्यक्रमहरुको आयोजना गरिएको पौडेलले जानकारी दिए ।
यसवर्ष वार्षिकोत्सवका बेला दशैँ, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तथा प्रतिकुल मौसमका कारण चुस्तदुरुस्त बनाईएको छ । विगतमा हुँदै आएको म्यूजिक अवार्ड केही महिनापछि गरिने बताईएको छ । वार्षिकउत्सवमा विभिन्न क्षेत्रलाई लक्षित गरि यसपटक ८ वटा कार्यक्रम तय गरिएको छ । यो वर्ष थारु संस्कृति जगेर्नाका लागि यमोसा उत्सव कार्यक्रम नयाँ कार्यक्रमका रुपमा ल्याइएको छ ।
असोज १ गते देवघाटधाममा रहनुभएका जेष्ठ नागरिक सम्मान गरि वार्षिकोत्सवका कार्यक्रमको सुरुवात गरिने निर्देशक पौडेलले जानकारी दिए । उनका अनुसार असोज ३ गते संविधान कार्यान्वयन तथा चुनौती विषयक अन्तरक्रिया, ४ गते थारु संस्कृति जगेर्नाका लागि यमोसा उत्सव, असोज १५ गते बृहत साहित्यिक जमघट कार्यक्रम, २२ गते अन्तर कर्मचारी डण्डिवियो प्रतियोगिता हुनेछ । त्यस्तै दशैँ बहारः कालिका उपहार कार्यक्रम असोज १० गतेदेखि सुरुभई २२ गतेसम्म सञ्चालन हुनेछ । असोज २६ गते सांगीतिक कार्यक्रम तथा वार्षिकोत्सव समापन समारोह हुनेछ ।
‘आवाजविहीनहरूको आवाज’ बनेर २०५९ सालमा चितवनबाट प्रशारण गर्दै आएको कालिका एफएमले मनोरञ्जनका लागि कालिका एफएम ९१ मेगाहर्जबाट २०६४देखि निरन्तर गीतसंगीत प्रशारण गर्दै आएको छ । एकता, शान्ति र संस्कारको संवाहकको नारा तय गर्दै विगत ९ वर्षदेखि टिभी कालिका एचडीको प्रसारण गर्दै आएको छ । पछिल्लोपटक समयको मागलाई मध्यनजर गर्दै कालिका न्युज डटकमको अनलाईन समेत सञ्चालनमा छ ।
२००० वाट क्षमताको ट्रान्समिटर र अत्याधुनिक उपकरणबाट प्रशारणमा रहेको कालिका एफ.एम. लाई रेडियो, इन्टरनेट, एप लगायतका माध्यमबाट सुन्न सकिन्छ । प्रविधिको विकाससँगै हाम्रो पात्रो, नेपाली पात्रो लगायतका रेडियो सुन्न मिल्ने विभिन्न एपबाट सहजै रुपमा विश्वका धेरै ठाउँबाट सुन्न सकिने व्यवस्था गरिएको छ । नेपाली सञ्चारमाध्यमहरुमा अनलाइनमा सर्वाधिक श्रोता रहेको रेडियोका रुपमा कालिका अग्रपंक्ति रहेको निर्देशक पौडेलले बताए । नेपाली रेडियोहरुको इतिहासमै अनलाइनमा एकैसाथ एक लाख बढी श्रोताले सुन्ने एक मात्र रेडियोका रुपमा कालिका एफएम चिनिएको छ ।





