भरतपुर, २३ भदौ ।
सम्पूर्ण किताब नारायणगढले पाँचौँ वार्षिकोत्सवको अवसरमा एक जना छात्रालाई साइकल उपलब्ध गराएको छ । पाँचौँ वर्ष प्रवेशको अवसरमा बिहीबार सम्पूर्ण किताबमै एक कार्यक्रमको आयोजना गरी भरतपुर–४ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय बाह्रघरेमा कक्षा ९ मा अध्ययनरत ओमकुमारी थापामगरलाई एक थान साइकलसहित शैक्षिक तथा सरसफाइका सामग्री सहयोग गरिएको हो ।
साहित्यसँग सम्बन्धित पुस्तक र स्टेशनरी सामग्री बिक्री गर्दै आएको सम्पूर्ण किताबले चार वर्षअघि बालकुमारी कलेजरोड, नारायणगढमा पसल उद्घाटनका बेला पनि विद्यार्थीलाई शैक्षिक सामग्री दिएको थियो । त्यसयता हरेक वर्ष भदौ २३ गते सामुदायिक विद्यालयका विपन्न एवं जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेर वार्षिकोत्सव मनाउँदै आइएको सञ्चालक शिरिषा सापकोटाले बताइन् ।
कार्यक्रममा अग्रज साहित्यकार गोविन्दराज विनोदी, विद्यालयका प्रधानाध्यापक ऋषिराम खरेल, नेपाल प्रहरी शिक्षालय भरतपुरका प्रहरी उपरीक्षक प्रकाश मल्ल, मास्के पुस्तक भण्डारकी संचालक रजनी मास्केलगायतले बोलेका थिए ।
‘सम्पूर्ण किताब’ खुलेपछि नारायणगढ क्षेत्रमा साहित्य पढ्ने माहौल बढेर गएको साहित्यकार गोविन्दराज विनोदीले बताए । पठन संस्कार बसाल्नुका साथै सम्पूर्णले समाजसेवामा पनि हात हालेको चितवनको पुरानो पुस्तक पसल मास्के पुस्तक भण्डारका सञ्चालक रजनी मास्केले बताइन् । प्रहरी उपरीक्षक प्रकाश मल्लले नेपालमा पठन संस्कृतिको स्थिति सन्तोषजनक नरहेको अवस्थामा सम्पूर्ण किताबले यसको विकासमा थालेको अभियान लोभलाग्दो र प्रशंसायोग्य भएको बताए । लामो समय मास्के पुस्तक भण्डारमा काम गरेका लेखराम सापकोटाले सम्पूर्ण किताब खोलेका हुन् ।
प्रधानाध्यापक खरेलले विद्यार्थीलाई सहयोग गर्न आफ्नो विद्यालयलाई छनौट गरेकोमा धन्यवाद व्यक्त गर्दै व्यावसायिक संस्थाले वार्षिकोत्सवको अवसर पारेर विद्यार्थीलाई सहयोग गर्नु अनुकरणीय काम भएको बताए । उनले सम्पूर्ण किताबको व्यावसायिक सफलताको कामना समेत गरे ।
कार्यक्रममा जिल्लाका साहित्यिक एवं शैक्षिक व्यक्तित्वको उपस्थिति रहेको थियो । सम्पूर्ण किताबले बिहीबारदेखि नै दशैं तिहार पुस्तक मेला सुरू गरेको छ । तिहारसम्म चल्ने मेलामा पुस्तक खरिदमा विशेष सहुलियत गरिएको संचालक लेखराम सापकोटाले बताए ।





