काठमाडौँ २३ भदौ ।
सत्र वर्षकी किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेका क्रिकेटर, नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ । अब उनलाई प्रहरीले कुनै पनि बेला पक्राउ गर्न सक्नेछ ।
लामिछोनेविरुद्ध एक नाबालिगले बलात्कारको जाहेरी दिएपछि त्यसबारे अनुसन्धान गर्नका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो ।
लामिछाने हाल देश बाहिर छन् । नेपाल क्रिकेट संघ ९क्यान०का अनुसार उनले आफ्नो संलग्नता अस्वीकार गर्दै कानुनी सहायताका लागि अनुरोध गरेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको चासो
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेमाथि लागेको बलात्कारको आरोपबारे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले चासो देखाएको छ । क्रिकेट संघका सचिव प्रशान्त विक्रम मल्लका अनुसार नेपालमा लागेको अभियोगबारे सीपीएल (क्यारेबियन प्रिमियर लिग) टिमले पनि जानकारी पाएको छ र, खेलका लागि अप्ठ्यारो नपर्ने बताएको छ । तर आईसीसीले भने सन्दीपविरुद्ध परेको जाहेरीबारे चासो राखेको छ । ‘आईसीसीले के हुनसक्छ यो केसमा भनेर चासो राखेको छ’, आफूले सबै जानकारी दिएको भन्दै सचिव मल्लले भने, ‘रेप केसमा गएको भनेपछि उनीहरु सिरियस भएका छन् ।’
क्यानले सहजीकरण गर्ने
मल्लका अनुसार यो जाहेरीबारे सन्दीपसँग कुराकानी भएको थियो । उनले जाहेरी परेको थाहा पाएको, तर आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।
क्रिकेट संघ खेलाडीहरुको अभिभावक भएकाले सन्दीपको मागअनुसार कानुन व्यवसायी खोज्न सहजीकरण गर्नेछ । अपराध गरेको छ भने ढाकछोप र बचाउ नगर्ने क्यानको अडान रहेको भन्दै सचिव मल्लले भने, ‘अपराधी नै हो भने पनि कानुनी उपचार उसको अधिकार हो । क्यान अभिभावक भएकाले लयर खोज्न सहजीकरण गरिदिन्छ ।’





