चितवन २३ भदौ ।
प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले भरतपुरलाई समृद्ध बनाउन यहाँ अटोल्याण्ड आवश्यक रहेको बताएका छन् । बिहीबार नारायणगढमा आयोजित चितवन अटो मेकानिकल व्यवसायी संघको रजत महोत्सव वर्ष समापन तथा २६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राज्यमन्त्री श्रेष्ठले अटोल्याण्डको आवश्यकतामाथि जोड दिएका हुन् ।
प्रमुख अतिथिका रुपमा समारोहलाई सम्बोधन गर्दै राज्यमन्त्री श्रेष्ठले सीपमुलक तालिममार्फत दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने बताए । ‘सीपमुलक तालिमबाट दक्ष जनशक्ति बनाउनु पर्छ, अनिमात्र अटो क्षेत्रको समस्या निदान हुनेछ’ श्रेष्ठले भने ।
भरतपुर महानगरका उपमेयर चित्रसेन अधिकारीले नगर वनसँगै २० बिघामा अटोल्याण्ड बनाउन महानगरले प्रकृया अघि बढाएको जानकारी दिए । आयोजक संघका अध्यक्ष प्रेमप्रसाद पाण्डेको अध्यक्षतामा भएको समारोहमा नेपाली काँग्रेसका जिल्ला सभापति राजेश्वर खनाल, नेकपा (एकीकृत समाजवादी) का अरुण पीडित भण्डारी, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।





