पत्रकार विष्टको `छेलिएका अनुहार´मा चेपाङ बनकरियाको चित्रण

भरतपुर, १९ भदौ ।
पत्रकार प्रताप विष्टको हालै प्रकाशित पुस्तक ‘छेलिएका अनुहार’माथि शनिबार नारायणगढमा छलफल कार्यक्रम गरिएको छ । पुस्तकमा चेपाङ, वनकरिया जाति र गाडी बोकेर काठमाडौं पुर्‍याएका मकवानपुरका व्यक्तिहरुका बारेमा चर्चा छ ।

पुस्तकमाथि बोल्दै समीक्षक डिआर पोखरेलले पुस्तकले यी जाति र व्यक्तिहरुका बारेमा धेरै नै जानकारीहरु पस्केको बताए ।
‘पुस्तक संग्रहणीय नै छ । उपयोगी विवरणहरु छन् । ती समाचारका शैलीमा आएका छन् । चेपाङ र वनकरियाका विषयलाई अझै गहिराइमा पुगेर लेखहरु पस्कन सकेको भए पुस्तक झनै राम्रो हुने थियो’ पोखरेलले भने । चेपाङ र वनकरियाको इतिहास, संस्कार, संस्कृति र समस्याहरु पुस्तकमा अटाएको उनले बताए । वनकरियाको समस्या निराकरणमा विष्टले निकै सक्रियता देखाएको पुस्तक पढ्दा थाहा पाइने पोखरेलको भनाइ थियो । पुस्तकमा २०५१ सालदेखि २०७५ सालसम्म कान्तिपुर दैनिकमा प्रकाशित समाचार समावेश गरिएको छ । नागरिकता नै नभएर आवासको सुविधा समेत नहुनुका साथै सरकारी सेवा सुविधाबाट बञ्चित भएको यथार्थलाई पुस्तकमा प्रकाशित समाचारहरुबाट बुझ्न सकिने पोखरेलले उल्लेख गर्नुभयो ।

पत्रकार विष्टका बारेमा बताउँदै टिप्पणीकार उदय अधिकारीले जनस्तरमा भिजेर लेख्न रुचाउने भएका कारणले विष्टले अल्पसंख्यक आदिवासी समुदाय चेपाङका बारेमा मिडियामा लगातार समाचार लेख्दै आएको बताए । विष्टसँग चेपाङ, वनकरिया र अन्य समुदाय र क्षेत्रका बारेमा यथेष्ट सूचनाहरु रहेको हुँदा ती कुराहरुलाई बाहिर ल्याउन थप पुस्तकहरु प्रकाशित होऊन् भन्ने अपेक्षा राखेको अधिकारीले बताए ।

संविधान सभाका सदस्य रहेका चेपाङ अगुवा गोविन्दराम चेपाङले चेपाङ समुदायको पहिचान स्थापित गराउन पत्रकार विष्टको ठूलो भूमिका रहेको बताए । उनले चेपाङले गरेका प्रगति र चुनौतीका विषयमा सर्जक र समाचारदाताहरुले धेरै भन्दा धेरै लेख्नु पर्ने बताए । चेपाङहरु मान्छेको मासु खान्छन्, चेपाङको पुच्छर हुन्छ भन्ने समाचार पढेपछि चेपाङ समुदाय संगठित भएको उनले बताए । `अब लेखक पत्रकारले चेपाङका सामाजिक, आर्थिक परिवर्तनको समाचार सार्वजनिक गर्नुपर्छ, रानीको सवारीका बेला रानीले यी पनि मेरा प्रजा हुन् भनेपछि प्रजा लेख्न सुरुवात गरिएको भनाइ छ, यो हाम्रो जातीमाथि आत्मसम्मान होइन´, गोविन्दराम चेपाङले भने -`अब हाम्रो समुदायमा प्रजा हटाएर चेपाङ लेखाउन अभियान थाल्छौँ ।´

नेपाल चेपाङ संघका पूर्वमहासचिव सन्तबहादुर चेपाङले अल्पसंख्यकको आवाजलाई पत्रकार विष्टले सन्तुलित र यथार्थपरक रुपमा राख्दै आएको बताए । विष्टको किताब चेपाङ समुदायका लागि विशिष्ट उपहार भएको उनको भनाइ थियो ।
नेपाल चेपाङ संघ चितवनका पूर्वअध्यक्ष तथा इच्छाकामना गाउँपालिका–६ का वडाध्यक्ष लक्ष्मण चेपाङले चेपाङ समुदायको ज्ञानले प्रकृतिको संरक्षणका पुर्‍याएको योगदान समाचार र लेख तथा पुस्तकमा आउनुपर्ने बताए ।

लेखक प्रताप विष्टले लामो समयदेखि समाचार लेख्दै आए पनि यो आफ्नो पहिलो कृति भएको र आउँदा दिनमा सुधार गर्ने विषयमा आफू सजग रहेको बताए । छलफल कार्यक्रममा लेखक विष्टसँग कान्तिपुर दैनिकका पत्रकार रमेशकुमार पौडेलले संवाद गरेका थिए । संवादका क्रममा लेखक प्रताप विष्टले चेपाङ समुदायको समाचार पत्रकारिताको सुरुवाती चरणमा समाचार प्रकाशित हुने विषयको रुपमा हेरिएको बताए । राजनीतिक स्थिरताका कारण सामाजिक, आर्थिक मुद्दा समाचारको विषय बन्ने क्रममा पनि चेपाङका मुद्दा समाचारको प्राथमिकतामा परेको विष्टले उल्लेख गरे । यसलाई एउटा दस्तावेजको रुपमा राख्न पनि पुस्तक तयार पारिएको विष्टको भनाइ छ । गाडी बोक्ने यथार्थ भोलि मिथकको रुपमा नरहोस् भनेर पुस्तकमा समेटिएको उनले स्पष्ट पारे ।

९९ वर्षको जयपति चेपाङले सरकार गरिब छ भन्दै सामाजिक सुरक्षा कार्यक्रमबाट भत्ता समेत लिन्न भनेको विषय उनले पौडेलसँगको कुराकानीका क्रममा स्मरण गरे । चेपाङ, बनकरिया र गाडी बोक्नेको कथा बुझ्न धेरै मानिसमा जिज्ञासा राख्ने गरेको सन्दर्भमा सबैले अध्ययन र विश्लेषणका लागि एउटा दस्तावेज तयार पारिएको विष्टको भनाइ थियो । चेपाङ समुदायको भाषा लोप होला कि भनी चिन्ता लागेको विष्टले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट