भरतपुर, १३ भदौ ।
अङ्कुरम् स्काउट ट्रुपको आयोजना तथा अङ्कुरम् एकेडेमी चितवनको सहयोगमा अन्तरविद्यालय स्काउट रनिङ शिल्ड नृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सनराइज इङ्लिस स्कुल प्रथम, ग्रिनल्याण्ड इङ्लिस स्कुल द्वितीय र एकता शिशु निकेतनका विद्यार्थीहरुले तृतीय स्थान हासिल गरे ।
प्रथम हुने समूहले १० हजार रुपैयाँ नगदसहित रनिङ शिल्ड प्राप्त गर्यो भने द्वितीय हुनेले ७ हजार ५ सय रुपैयाँ र तृतीय हुनेले नगद ५ हजार पुरस्कार राशी प्राप्त गरे ।
प्रतियोगितामा मुग्लिङदेखि माडीसम्मका २० वटा विद्यालयका करिब १४० विद्यार्थी सहभागी थिए ।
हरितालिका तीज पर्वको अवसर पारेर नेपाली कला र संस्कृतिको संरक्षणसँगै विभिन्न विद्यालयका स्काउट विद्यार्थीहरुको मित्रता कायम गर्ने उद्देश्यले कार्यकम गरिएको एकेडेमीका परीक्षा प्रमुख सदीक्षा पौडेलले जानकारी दिइन् ।
प्रतियोगितामा बज्रयोग तथा डान्स एकेडेमीका निर्देशक पुष्प श्रेष्ठ र अङ्कुरम् एकेडेमीका नृत्य प्रशिक्षक निरा गुरुङले निर्णायकको भूमिका निभाएका थिए ।
पठनपाठन साथसाथै अतिरिक्त क्रियाकलापलाई पनि अन्तर्राष्ट्रिय स्तरबाट संचालन गर्दै आइरहेको यस एकेडेमीले मासिक तथा वार्षिकरुपमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।
अङ्कुरम् एकेडेमीका स्तरप्रमुख अर्जुनजी शर्माले सञ्चालन गरेको कार्यक्रमको प्रमुख अतिथिमा भरतपुर महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष एवं सामाजिक समन्वय समितिका संयोजक परमेश्वर खनाल थिए । कार्यक्रममा प्याब्सन केन्द्रीय समितिका सदस्य मोहन लामा, स्काउट रोवर लिडर तथा स्काउटर सिएएलटी शिवप्रसाद बराल, एकेडेमीका कार्यकारी निर्देशक नवराज पौडेललगायतको सहभागिता रहेको थियो ।





