काठमाडैँ, १३ भदौ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुँदे सन्देशसहित फिर्ता पठाएको नागरिकता ऐन संशोधन विधेयकमाथि सोमबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा छलफल हुँदैछ । यही भदौ १६ मा बस्ने राष्ट्रियसभा बैठकमा प्रतिवेदन पेस गर्ने तयारीका साथ सोमबार सो विधेयकमाथि छलफल हुन लागेको हो । सोमबार १२ बजे समितिको बैठक बस्दै छ ।
ज्येष्ठ सदस्यका हैसियतमा सो समितिको सभापतिको भूमिकामा रहेका कांग्रेस सांसद नारायणदत्त मिश्रले विधेयक समितिमा नअल्झिने बताएका छन् । उनले सबै सदस्यलाई सो विधेयकबारे छलफलका लागि समय दिइने तर, १६ गतेसम्म प्रतिवेदन पनि तयार पारिने बताए ।
राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि संसदमा विधेयक फिर्ता पठाए पनि प्रतिनिधिसभाले भने पहिलाकै विधेयक जस्ताको तस्तै पारित गरेर राष्ट्रियसभामा पठाएको छ । राष्ट्रियसभाको आइतबारको बैठकले सो विधेयक छलफलका लागि विधायन समितिमा पठाएको थियो । विधायन समितिमा पनि सत्तारुढ दलको स्पष्ट बहुमत भएकाले विधेयक हुबहु पारित हुने सम्भावना छ ।
१५ सदस्यीय विधायन समितिमा एमालेका ३ र राष्ट्रपतिबाट मनोनीत एक जना सदस्य छन् भने एक जना स्वतन्त्र छन् र राष्ट्रपतिबाट मनोनीत सांसद डा। विमला राई पौड्याल एमालेसँगै छिन् । तर स्वतन्त्र सांसद डा। खिमलाल देवकोटा भने कतै खुलेका छैेनन् । यद्यपि उनी हालको सत्ता गठबन्धनकै सहयोगमा निर्वाचित भएका थिए । सत्ता गठबन्धनका भने १० सदस्य छन् ।




