देवचुली, २३ असार ।
देवचुली नगरपालिकाले तीन जना स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरेको छ । देवचुली नगरपालिकाको आयोजनामा नगरपालिकाको सभाहलमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको सम्मानजनक बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो । २०४२ साल देखि २०७८ सालसम्म निरन्तर स्वयंसेविका भई सेवा गरेकी देवचुली- ३ की सीता खडका, २०४८ सालदेखि २०७८ सम्म निरन्तर स्वयंसेविका भई कार्य गरेकी देवचुली १ की चन्द्रकला सेन र २०५९ सालदेखि २०७८ सालसम्म स्वयंसेविका भई कार्य गरेकी देवचुली- ६ की दुर्गामाया बाचेलाई नगरपालिकाले नगद सहित सम्मान गरेको हो । सम्मानित खड्का र सेन ६० वर्षीय उमेर पूरा गरी स्वयंसेविकाबाट राजीनामा दिएका थिए भने बाँचे राजीनामा दिँदै देवचुली ६ बाट महिला सदस्यमा निर्वाचित भएकी हुन् । तीनै जनालाई नगरप्रमुख, उपप्रमुख, नगरप्रवक्ताले टीका, खादा र नगद रु ३० हजारसहित सम्मान गरिएको हो ।
आफ्नो लामो समय समुदायमा स्वयंसेवक भएर बिताएको, वडाका धेरै आमा बच्चालाई सहयोग गर्ने अवसर पाएकोले सदैव आफूले गरेको कामले गौरवान्वित गराउने सम्मानित स्वयंसेविका सीता खडकाले बताईन् । स्वास्थ्य स्वयंसेविकाहरुका लागि आफुहरुले नगरपालिकासँग राखेको अनुरोध पूरा गरिदिन समेत खडकाले अनुरोध गरिन् ।
देवचुली नगरपालिकाका विभिन्न अभियान सफल पार्न स्वास्थ्य स्वयंसेविकाहरुले महत्त्वपूर्ण भूमिका खेलेको र नगरले आगामी दिनमा स्वास्थ्य स्वयंसेविकाहरुका समस्याहरु समाधानका लागि सहयोग गर्ने नगरप्रमुख हरिप्रसाद न्यौपानेले बताए ।
देवचुली नगरपालिकामा ४१ जना महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुबाट निरन्तर नगरका विभिन्न अभियानहरुमा सहयोग भईरहेको स्वागतका क्रममा देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले बताए ।
देवचुली नगरपालिका सामाजिक विकास समितिका अध्यक्ष भूमिसरा आलेको अध्यक्षता भएको कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । यसै गरि कार्यक्रममा नगर उपप्रमुख पार्वता तिवारी, प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देल, नगर प्रवक्ता तिलप्रसाद काफ्ले, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण देवचुली नगरपालिकाका सिनियर अहेव अधिकृत शिव पराजुलीले गरेका थिए ।





