बागमतीका कृषकले दूधको अनुदान असारभित्रै पाउने

चितवन, २२ जेठ ।

बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दूध र पशु स्रोत केन्द्रलाई विनियोजन गरेको अनुदान रकम आगामी असारभित्र नै उपलब्ध गराउने गरी काम अघि बढाएको छ ।

पशुपक्षी तथा मत्स्यविकास निर्देशनालयमार्फत दिइने सो अनुदानबाट प्रदेशभित्रका एक लाखभन्दा बढी कृषक प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् । मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेका अनुसार दूधको अनुदानका लागि रु १६ करोड र पशु स्रोत केन्द्रका लागि रु एक करोड ६० लाख अनुदान रकम विनियोजन गरिएको छ ।

आज यहाँ पत्रकारसँग कुरा गर्दै पाण्डेले भने, “असारभित्रै हामी अनुदान रकम बाँड्ने गरी काम गर्दैछौँ ।” निर्देशनालयमा रहेका केही कर्मचारीले प्रक्रिया अघि नबढाएपछि कृषकको चौतर्फी दबाब परेको थियो ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका सचिव किशोर बगालेका अनुसार निर्देशनालयका कर्मचारीले काम नगरेका कारण प्रक्रिया अघि बढ्न ढिला भएको थियो । काम नगर्ने कर्मचारीलाई सरुवा गरेर अन्य कर्मचारी पठाउन दबाब दिएकै कारण निर्देशनालयले काम अघि बढाएको उनले बताए ।

दूध अनुदानमा गत वर्ष चितवनका किसानले रु आठ करोड पाएका थिए । चितवनमा यस वर्ष १०४ सहकारी संस्थाले अनुदानका लागि आवेदन दिएका छन् । बगालेले भने, “आधाभन्दा बढी अनुदान रकम चितवनका किसानले पाउँछन् ।” निर्देशनालयले दूधमा गत वर्ष प्रतिलिटर रु दुई अनुदान दिएको थियो । त्यसका लागि कम्तीमा रु २२ करोड आवश्यकपर्ने उनी बताउछन् ।

गत वर्षको जति नपाएपछि केही कम रकम पाउनेमा अब ढुक्क भएको उनको भनाइ छ । आफूहरुले दबाब नदिएको भए कृषक अनुदान पाउनबाट बञ्चित हुने अवस्थामा पुगिसकेको उनी बताउँछन् । सचिव पाण्डेले काम नगर्ने कर्मचारी सरुवा गरेपछि निर्देशनालयका कर्मचारीले अनुगमन थालेकाले असार लागेसँगै अनुदान रकम भुक्तानी गर्न सकिने बताए ।

कृषकको चौतर्फी दबाबपछि मन्त्रालयले कर्मचारी सरुवा गरेर काम अघि बढाएको जनाएको छ । निर्देशनालयका सरुवा भएका कर्मचारीले आचरणविपरीत गोपनियता भङ्ग गरेको भन्दै मन्त्रालयले कारबाही प्रक्रियासमेत अघि बढाएको छ ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ र केरा व्यवसायी सङ्घले यहाँ पत्रकार सम्मेलनको आयोजना गरी मन्त्रालयले काम अघि बढाएकामा खुसी प्रकट गर्दै सबैलाई सहयोगका लागि अनुरोध गरेका थिए ।रासस

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट