भरतपुर, १७ जेठ ।
नेपाली साहित्यकारहरुले किताबमा यौनकर्मीहरुका कुरा धेरै लेखेको तर तिनका ग्राहकहरुका बारेमा केही नलेखेकोमा समालोचकहरुले आपत्ति जनाएका छन् ।
कथाकार वसन्त पराजुलीद्वारा लिखित कथासङ्ग्रह `मोम्चो´ माथि बुधबार आयोजना गरिएको अन्तक्रिया कार्यक्रममा समालोचक प्रा.डा. सावित्री कक्षपतीले यस्तो धारणा राखेकी हुन् ।
“कथाकारहरुले अब यौनकर्मीहरुका कुरा मात्रै होइन, तिनकहाँ जाने ग्राहकहरुका कुरा पनि लेख्नुपर्छ ।” उनले भनिन्, “तिनकहाँ जानेहरु कुन वर्गका, कुन तहका र कुन मानसिकताका हुन्छन् भन्ने कुरा थाहा दिन जरुरी छ ।” उनले यौनका कुरालाई सुन्दर रुपमा प्रस्तुत नगरेर भद्दा रुपमा प्रस्तुत गर्दा कथाको गुणस्तर नरहने कुरा बताइन् ।
अर्का सामालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतमले चाहिँ कृतिपरक विवेचना गरे । कथाकार आफ्नो विद्यार्थीसमेत रहेको बताउँदै उनले मोम्चोभित्रका कथा राम्रा र केही कथा स्तरीय भएको बताए । “आफ्नो बच्चालाई बोतलपान गराएर बाहिरचाहिँ मातृत्वको भाषण गर्ने प्रवृत्तिमाथि एउटा कथाले राम्रो व्यङ्ग्य गरेको छ ।” उनले भने, “पत्रकारिता सन्दर्भका कथा आउनु राम्रो पक्ष हो ।”
साहित्यकार श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा भएको कार्यक्रममा साहित्यकार अशेष मल्ल, साहित्य पोष्टका सम्पादक अश्विनी कोइराला, नेपाल पत्रकार महासंघका सभापति विपुल पोखरेललगायतले बोलेका थिए । पत्रकारितमा व्यस्त भएर पनि जीवन्त कथा लेखेकोमा सबै वक्ताहरुले कथाकार पराजुलीले प्रशंसा गरे ।
पराजुलीको मोम्चोलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । यसअघि यसै प्रकाशनबाट उनको `कुमाता´ कथासङ्ग्रह प्रकाशित छ ।





