चितवनमा पाठ्यपुस्तक अभाव, पठनपाठनमा समस्या

भरतपुर, १७ जेठ ।
समयमा पाठ्यपुस्तक उपलब्ध नहुँदा चितवनका विद्यालयमा पठनपाठनमा समस्या देखिएको छ ।
नयाँ शैक्षिकसत्र सुरु भएसँगै अहिले जिल्लाभरका विद्यालयमा भर्ना अभियान जारी छ । भर्ना भएका बालबालिकाको हातमा पाठ्यपुस्तक उपलब्ध हुन नसक्दा पठनपाठनमा समस्या भएको हो ।

भरतपुर माविका प्रधानाध्यापक खेमनारायण पौडेल आवश्यक पाठ्यपुस्तक अहिलेसम्म पनि पाठ्यपुस्तक आउन नसक्दा पठनपाठनमा समस्या आइपरेको बताउँछन् । ‘पर्याप्त मात्रामा किताब नआइपुग्दा अहिले कोर्स नै अगाडि बढाउन समस्या भइराखेको छ ’ उनले भने ।

भीमनगर माविका शिक्षक कोमलनाथ घिमिरे पनि पाठ्यपुस्तक अभावले विद्यार्थीको शिक्षण सिकाई प्रभावित बनेको बताउँछन् । कक्षा १ दखि ५ कक्षासम्मका पुस्तक आइपुगे पनि कक्षा ६ देखि १० कक्षासम्मका जनक शिक्षा सामग्रीले उपलब्ध गराउने पुस्तक पर्याप्त मात्रामा नआइपुग्दा समस्या भइराखेको जानकारी दिए । उनले भने,‘हाम्रो शिक्षण सिकाइ पाठ्यपुस्तकमा निर्भर छ । कक्षाकोठामा पाठ्यक्रमअनुसार शिक्षकले पढाए पनि विद्यार्थीलाई घरमा गएर गर्ने अभ्यास प्रभावित बनिरहेको छ ।’

यस्तै जनजागृति मावि पिठूवाका प्रधानाध्यापक विनोद अधिकारी नयाँ भर्ना भएका विद्यार्थीले पुस्तक प्राप्त गर्न नसकिरहेको बताउँछन् । उनका अनुसार विद्यालयले सुरुवाती चरणमा माग गरेअनुसार पुस्तक उपलब्ध भए पनि नयाँ भर्ना भएका विद्यार्थीलाई भने पाठ्यपुस्तक अभाव भएको हो । यता अभिभावक रीता भुजेल पाँच कक्षामा पढ्ने छोराछोरीलाई किताब बिना नै विद्यालय पठाउनुपरेको बाध्यता सुनाउँछिन् । कविलास माविमा पाँच कक्षामा पढ्ने छोरी लक्ष्मी र छोरा रोशनको लागि विद्यालयमै किताब माग्न गएकी उनी रित्तै हात फर्केको बताइन् । ‘कक्षा पाँचमा पुगेका केटाकेटीलाई चार कक्षाकै किताब दिएर स्कुल पठाउनु ? समयमै किताब नपाएपछि कसरी पढ्ने होमवर्क गर्ने ? ’ उनले प्रश्न गरिन् ।

यता जनक शिक्षा सामग्री केन्द्र वाग्मती प्रदेश प्रमुख रामविनय श्रेष्ठ विद्यालय र पुस्तक पसलको मागबमोजिम चितवनमा पहिलो चरणको पाठ्यपुस्तक वितरण गरिसकेको बताउँछन् । ६ वटा जिल्लाको लागि पाठ्यपुस्तक वितरण गर्ने जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र वाग्मती प्रदेश भरतपुरले अहिले चितवनमा पहिलो चरणको वितरण सम्पन्न गरेर अन्य जिल्लामा किताब पुर्‍याउने काम भइराखेको श्रेष्ठ बताउँछन् । ‘चितवनमा माग बमोजिम पहिलो चरणमा किताब उपलब्ध गराएका छौँ । थप माग भएको पाठ्यपुस्तक दोस्रो चरणमा उपलब्ध गराउने छौँ’ उनले भने । कागज अभावका कारणले पर्याप्त रुपमा छपाई हुन नसक्दा कक्षा ६ र ८ को किताब भने अभाव नै रहेको उनले खुलाए ।

भरतपुर महानगरपालिका शैक्षिक शाखा प्रमुख महेन्द्र पौडेल जनक शिक्षा सामग्री केन्द्रले छापेर दिने पाठ्यपुस्तप पर्याप्त मात्रामा उपलब्ध भइनसकेको तर पाठ्यपुस्तक अभाव भएपनि शिक्षणसिकाई रोकिन नहुने गरि भरतपुरका विद्यालयमा जानकारी गराइसकेको बताउँछन् ।
‘कत्ति पनि नआएको अवस्था होइन । तर सबै विद्यालयका शतप्रतिसत मागअनुसार नआएको बुझिएको छ । संसदीय समितिले पनि एक महिनाभित्र पाठ्यपुस्तक पठाउनुपर्ने निर्देशन दिएको छ’, उनले भने- ‘पाठ्यपुस्तक नहुँदा शिक्षण सिकाइ प्रभावित हुनुहुँदैन भनेर हामीले विद्यालयलाई जानकारी पनि गराइसकेका छौँ । विद्यालय शैक्षिकसत्रको सुरुवाती अवस्थामा आधारभूत ज्ञान सीपका कुराहरु सिकाउनपर्छ भनेका छौँ । ’

गत बुधवार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले अहिलेसम्म छापिएका पाठ्यपुस्तक तत्काल विद्यालयहरुमा पुर्‍याउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको हो । त्यस्तै बैठकले छाप्न बाँकी कामलाई तुरुन्त अघि बढाइ एक महिनाभित्र छापेर सबै विद्यालयमा पुर्‍याउन पनि निर्देशन दिएको छ ।

त्यसैगरी निजी विद्यालयका पाठ्यपुस्तकहरूको अभाव पनि उत्तिकै छ । यसवर्ष कक्षा ४,७ र ९ का पाठ्यक्रम परिवर्तन भएकोले यी कक्षाका किताब पूर्ण मात्रामा बजारमा आइपुगेका छैनन् । सम्बन्धित पब्लिकेसनहरूसँग जानकारी लिँदा मुख्य गरि कागजको अभावमा बेलैमा किताब छाप्न नसकिएको बताउँछन् । स्थानीय निर्वाचन र त्यसपछि ट्रान्सपोर्टको हडतालका कारणले पनि किताब छपाई र ढुवानीमा समस्या देखिएको बिक्रेताहरू बताउँछन् ।

निजी विद्यालयहरूले एउटै कक्षामा पनि धेरै पब्लिकेसन्सका किताबहरू लगाउने हुनाले सबै पब्लिकेसन्सका किताब उपलब्ध हुन समय लाग्ने गरेको नारायणगढस्थित मास्के पुस्तक भण्डारका सञ्चालक सरोज मास्के बताउँछन् । विशेषगरी ठूला प्रकाशन गृहले कागजको जोहो गरेर बेलैमा किताब उपलब्ध गराए पनि साना प्रकाशन गृहलाई बजारमा माग अनुसारको किताब उपलब्ध गराउन समस्या देखिएकोले किताबको अभाव लामो समयसम्म रहने गरेको मास्के स्वीकार्छन् । साना प्रकाशन गृहले आफ्नो किताब विद्यालयले लिस्टमा राखेपछि मात्रै छपाईमा जाने हुँदा किताब आउन समय लागेको मास्केले बताए ।

निजी विद्यालयमा भारतीय प्रकाशन गृहका किताब पनि लाग्ने गरेको र ती पुस्तकको अभाव बजारमा धेरै देखिएको छ । अंकुरम एकेडेमी, स्मल हेभन स्कुल र सनराइज स्कुलमा लागेका बिदेशी प्रकाशन गृहका किताबहरू पर्याप्त मात्रामा बजारमा उपलब्ध छैनन् । सनराइज स्कुलमा कक्षा ८ मा पढ्ने एकजना छात्राले अहिलेसम्म जम्मा ५ वटा पुस्तक मात्रै जम्मा गरेकी छन् । जबकी उनलाई स्कुलले दिएको लिस्टमा १२ वटा पुस्तकको नाम छ । पढाइ सुरु भएको दुई साता बितिसक्दा पनि उनले नारायणगढ र भरतपुरका सबै पुस्तक पसल चाहर्दा जम्मा ५ वटा किताब मात्रै हात पारेकी छन् । अन्य साथीहरूले पनि किताब पाउन नसकेको गुनासो उनले सुनाइन् ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ चितवन शाखाका अध्यक्ष उद्योगविक्रम बानियाँका अनुसार अबको सातामा बजारमा लगभग सबै किताब आउनेछन् र किताब अभावको समस्या हट्नेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट