भरतपुर, १६ जेठ ।
नेपाल पुलिस कलेज भरतपुर युवालाई प्रहरी बनाउन अभ्यास गराइने स्थान हो । यहाँ भर्ना भएका युवालाई दिनहुँ प्रहरीले गर्नुपर्ने सबै किसिमको अभ्यास गराइन्छ । लठ्ठी र बन्दुक समाउन सिकाइन्छ । त्यसको प्रयोग कसरी गर्ने पनि सिकाइन्छ । प्रहरीले गर्नुपर्ने सुरक्षा व्यवस्थापनसहितका काम र कर्तव्य सबैथोकको अभ्यास यहाँ हुन्छ । यो सँगै हिजोआज उनीहरूलाई कसरी सिर्जनशील बनाउन सकिन्छ भनेर यहाँ सिर्जनात्मक र रचनात्मक प्रस्तुति पनि गराउन थालिएको छ ।
बिहीबार साँझ नेपाल पुलिस कलेज भरतपुरको माहोल अघिपछि भन्दा अलि बेग्लै थियो । एनपीसी ट्रेनीज ट्यालेन्ट राउन्ड २०७९ अन्तर्गत आयोजना गरिएको यो कार्यक्रममा चित्रकला तथा फोटो प्रदर्शनी, कविता वाचन, पुस्तक समीक्षासहित नृत्य तथा गायनका सांगीतिक प्रस्तुतिहरू गराइएको थियो ।
कार्यक्रमको सुरुवातमा चित्रकला तथा फोटो प्रदर्शनी गरिएको थियो । घाम डुब्नै लाग्दा गरिएको प्रदर्शनीमा प्रशिक्षार्थीहरूले बनाएका चित्रकला र भ्रमणका क्रममा देखेका सुन्दर दृश्यलाई क्यामेरामा कैद गरेर ल्याइ यहाँ सजाएका थिए । रौतारानी सदन, फूलबारी सदन, पाँचपोखरी सदन, लिगलिग सदन, रानीमहल सदन, काँक्रेबिहार सदन, चाँदनी दोधरा सदन र बुद्धभूमि सदन गरी ८ वटा सदनका प्रशिक्षार्थीले यहाँ विभिन्न भावभंगी र सन्दर्भका चित्रकला र फोटोहरू प्रदर्शन गरेका हुन् । यी प्रदर्शनीलाई पुलिस कलेजका विशिष्ट व्यक्तिहरू, आगन्तुक अतिथि गण साथै शिक्षालयका प्रशिक्षार्थी र कर्मचारी सबैले अवलोकन गरेका थिए ।
प्रहरीहरू लाठी र बन्दुक खेलाउन अनि शान्तिसुरक्षा कायम राख्न मात्रै सिपालु हुन्छन् भन्ने सोचलाई चिर्न यो किसिमको कार्यक्रम आयोजना गरिएको पुलिस कलेजका निमित्त समादेशक प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए । ‘प्रहरीहरू विभिन्न कर्म र गतिविधिमा पनि अब्बल छन्, सिर्जनशील छन् भनेर देखाउन पनि यो किसिमको कार्यक्रम गरिएको हो’ मल्लले भने, ‘प्रशिक्षार्थीहरूलाई पुस्तक पढ्न र अन्य सिर्जनात्मक गतिविधिमा सक्रिय गराउन अभिप्रेरित गरिनु पनि एक किसिमको सिकाइ हो । प्रहरीलाई लाठी र बन्दुक बाहेकको संसार थाहा हुँदैन भन्ने भनाइलाई मेट्न पनि यी किसिमका कार्यक्रमहरू गरिनु पर्दछ ।’
चित्रकला र फोटो प्रदर्शनीपछिका प्रस्तुतिहरू पालैपालो प्रस्तुत गरिए । कविता वाचनको शृङ्खलामा रौतारानी सदनका प्रशिक्षार्थी प्रहरी सहायक निरीक्षक नवीन शर्मा प्रस्तुत भए । शर्माले `जिन्दगीको सुसाइड नोट´ शीर्षकको कविता सुनाए । `मर्नु भनेको भोकको विकल्पमा जहर पिउनु हो´ भन्ने आसयसहितको कविता शर्माले वाचन गरे । उनको यो कविता प्रतियोगिताकै उत्कृष्ट कवितामा पनि दर्ज भयो ।
त्यसपछि गायन शृङ्खलामा प्रशिक्षार्थी जुरेन्द्र राई स्टेजमा आए । प्राविधिकले ट्र्याक बजाएपछि राईले ‘देखेर तिमीलाई…’ बोलको गीत गुनगुनाउन थाले । रानीमहल सदनका राईलाई सहकर्मीसँगै अतिथिहरूले पनि आवाज मिसाउँदै साथ दिए ।
फूलबारी सदनका सुनीलकुमार थारूले पुस्तक समीक्षा अन्तर्गत समर लभ पुस्तकको समीक्षा सुनाए । सुविन भट्टराईले लेखेको यो पुस्तकमा प्रेम, मनोरञ्जन र बिछोडलाई कथानक बनाइएको छ । समीक्षक थारुले किताबको परिचय गराउँदै समर लभमा जोडिएका मुख्य पात्र अतीत र सायाको प्रेमकथालाई टिप्पणी सहित प्रस्तुत गरे ।
लगत्तै काँक्रेविहार सदनका प्रशिक्षार्थीले सांगीतिक प्रस्तुति दिए । यो प्रस्तुतिपछि पाँचपोखरी सदनका मनोजसिंह बिष्ट कविता सुनाउन स्टेजमा आए । बिष्टले `म सडकमा छु´ शीर्षकको कविता सुनाए ।
कवितापछि चाँदनी दोधारा सदनका कलाकार स्टेजमा आएर `तुलसी आँगनमा रोपौंला…´ गीत प्रस्तुत गरे । यो प्रतियोगितामा चाँदनी दोधाराको यो टोलीले उत्कृष्ट गायनको अवार्ड पाउन सफल पनि भयो । त्यसपछि लिगलिग सदनका रवीन्द्र कलौनी पुस्तक समीक्षा गर्न स्टेजमा आए । उनले `झोला´ कथासंग्रहको समीक्षा प्रस्तुत गरे । कथाकार कृष्ण धरावासीको यो संग्रहमा सामाजिक विषयवस्तुका कथाहरू छन् । त्यसपछि बुद्धभूमि सदनकी तुलसी बुढाथोकीले `आमा´ शीर्षकको कविता सुनाइन् । ड्युटीमा रहेकी एउटी महिला प्रहरीले हरपल आमालाई सम्झँदै निभाउनु परेको कर्तव्यलाई कवितामा बुनिएको थियो ।
त्यसपछि लिगलिग सदनका रोजन नेम्वाङले एउटा सांगीतिक प्रस्तुति दिए । नेम्वाङको प्रस्तुतिपछि चाँदनी दोधारा सदनका विकास कार्कीले `ऐना´ कथासंग्रहको समीक्षा सुनाए । रामलाल जोशीको यो पुस्तकमा समेटिएका कथामा सुदूरपश्चिमको ग्रामीण समाजलाई चित्रण गरिएको छ । `ऐना´ मदन पुरस्कार प्राप्त कृति हो ।
पाँचपोखरी सदनका प्रकाश जिसी नेतृत्वको टोलीले प्रहरी फोर्सका विभिन्न सन्दर्भलाई समेटेर एउटा सामुहिक नृत्य प्रस्तुत गरे ।
कार्यक्रममा अन्य प्रस्तुतिहरू पनि निरन्तर अगाडि बढे । ५ बजेबाट सुरु भएको कार्यक्रम यहाँसम्म आइपुग्दा ९ बजिसकेको थियो । यी प्रस्तुतिमाझ करिब १ हजार ५ सयको हाराहारीमा रहेका प्रशिक्षार्थीहरू हुटिङ गर्दै रमाइरहेका थिए ।
यसैक्रममा काँक्रेबिहार सदनका ओमराज पौडेल स्टेजमा आए । पौडेलले `तिम्रो राष्ट्रसेवक छोरो´ शीर्षकको कविता उनलेे सुनाए । आमालाई सम्बोधन गरेर लेखिएको कथाको नायक उनी आफै र उनीजस्तै राष्ट्रसेवकहरू थिए । त्यसपछि फूलबारी सदनकी भगवती कँवरले `पलपल रोएँ जिन्दगीमा…´ बोलको गीत मार्फत माहोललाई झनै सांगीतिक बनाइन् ।
कँवरको सांगीतिक प्रस्तुतिपछि रानीमहल सदनका दीपक सुवेदी पुस्तक समीक्षा लिएर प्रस्तुत भए । सुवेदीले विश्वप्रसिद्ध लेखक पाउलो कोएलोको लोकप्रिय पुस्तक `विनर स्टेण्ड एलोन´ पुस्तकको समीक्षा प्रस्तुत गरे । सुवेदीले यो पुस्तकको समीक्षा अंग्रेजी भाषामा प्रस्तुत गरेका थिए ।
त्यसपछि सामुहिक नृत्य प्रस्तुत भयो । रौतारानी सदनका टोलीले माइकल ज्याक्सन शैलीको नृत्य र केही नेपाली नृत्यहरू प्रस्तुत गरे । यसपछि लिगलिग सदनका निराजन बोहराले प्रहरीको कर्तव्यका बारेमा लेखिएको कविता सुनाए ।
बुद्धभूमि सदनका तेजबहादुर मगरले `लैलै कठैबरी लै…´ बोलको गीत सुनाए । पाँचपोखरी सदनका पुष्कर कार्की समीक्षा लिएर प्रस्तुत भए । कार्कीले साहित्यकार अमर न्यौपानेको `सेतो धरती´ पुस्तकको समीक्षा प्रस्तुत गरे । सेतो धरती उपन्यास मदन पुरस्कार जितेको पुस्तक हो ।
लगत्तै फूलबारी सदनका केशर जैसी प्रस्तुत भए । जैशीले फूलहरूलाई समवेदना शीर्षकको कविता प्रस्तुत गरे । लगत्तै काँक्रेबिहार सदनका टोली सांगीतिक प्रस्तुति लिएर स्टेजमा उक्लिए । टोलीले `जहाँ सुनका बाला झुल्छन्…´ बोलको गीतमा नृत्य प्रस्तुत गरे । लगत्तै रौतारानी सदनका किशोर घिमिरे पुस्तक समीक्षा लिएर प्रस्तुत भए । घिमिरेले राधा पौडेलद्वारा लिखित `खलंगामा हमला´ पुस्तकको समीक्षा प्रस्तुत गरे । जुम्ला जिल्लाको समग्र चित्रण गरिएको खलंगामा हमला पनि मदन पुरस्कार प्राप्त पुस्तक हो । यही समीक्षा प्रतियोगिताको उत्कृष्ट समीक्षामा दर्ज भयो ।
रानीमहल सदनको सांगीतिक प्रस्तुति अन्तर्गत युगल नृत्य प्रस्तुत भयो । रोजिला लामा र राहुल सुनारको प्रस्तुतिले माहोललाई झन् ततायो । लगत्तै रानीमहल सदनकै सुरेश बोहराले अनेक मौसम एक मौसमी शीर्षकको कविता सुनाए । रौतारानी सदनको टोली स्टेजमा आएर ‘नमाज लाज यस्तरी…’ गुनगुनाउन थाल्यो । यतिबेला रातको साढे दश बजिसकेको थियो । तर पनि प्रशिक्षार्थीको टोलीले उत्तिकै उत्साहका साथ मनोरञ्जन दिइरहेका थिए, लिइरहेका थिए ।
त्यसपछि पुस्तक समीक्षा लिएर प्रवेश नेपाल प्रस्तुत भए । काँक्रेबिहार सदनका प्रवेशले पाउलो कोएलोको प्रसिद्ध पुस्तक `द अल्केमिस्ट´को समीक्षा सुनाए । समीक्षापछि फूलबारी सदनकी अस्मिता बानियाँ र उनको टोलीले एउटा रोमान्टिक गीतमा नृत्य प्रस्तुत गरेको थियो । लगत्तै चाँदनी दोधारा सदनका नारायण कुमालले कविता सुनाए । उनले परदेश गएको छोरा बन्द बाकसमा फर्किएको प्रसंगलाई कवितामा उतारेका थिए । त्यसपछि पाँचपोखरी सदनकी कृतिका चौधरी र उनको टिमले `उकाली चढौंला…´ बोलको गीतमा आकर्षक नृत्य प्रस्तुत गरेको थियो ।
लगत्तै बुद्धभूमि सदनका पुजन मगर पुस्तक समीक्षा लिएर स्टेजमा उक्लिए । मगरले वसन्त बस्नेतको हालै प्रकाशित उपन्यास `महाभारा´माथि टिप्पणी प्रस्तुत गरे । लगत्तै लिगलिग सदनका विक्रम थारु र धनमाया शाक्यले युगल नृत्य प्रस्तुत गरे । यो नृत्य प्रस्तुत भैरहँदा मध्यरात भैसकेको थियो । कार्यक्रमको अन्तिम प्रस्तुतिमा प्रहरी हवल्दारद्वय पूर्णिमा श्रेष्ठ र अनु परियारले नृत्यसहितको गायन प्रस्तुत गरेका थिए । श्रेष्ठ र परियार नेपाल प्रहरी संगीत विद्यालयबाट निर्णायकको भूमिकामा यहाँ आमन्त्रित थिए ।
यी दुईको प्रस्तुतिसँगै कार्यक्रमलाई मध्यरातमा बिट मारियो । कार्यक्रममा पुस्तक समीक्षा र कविता प्रतियोगिताको निर्णायकको भूमिकामा विशेष अतिथिको रूपमा सहभागी भएका प्राध्यापक एवं साहित्यकार एलबी क्षेत्रीले प्रहरी शिक्षालयमा यो किसिमको कार्यक्रम हुनु ठूलो उपलब्धि भएको बताए । ‘प्रहरी आफ्नो कर्म र सेवाभन्दा बाहिर पनि हरेक किसिमले अब्बल रहेछ’ भन्ने कुरा यो कार्यक्रम र आजका प्रस्तुतिले पुष्टि गरेको छ’, क्षेत्रीले भने ।





