१० महिनादेखि चुपचाप एक हेडमास्टर

भरतपुर, ११ जेठ

संसार ठूलो छ । ब्रह्माण्ड अझै भयङ्कर !

तर, नेपालको बागमती प्रदेशमा पर्ने भरतपुर महानगरपालिकाको वडा नम्बर ७ को कटहरचोक भन्ने ठाउँको अलिकति भित्र भएको दुई तले घरको एउटा कोठा नै उनको संसार हो यतिखेर ।

उनको उमेर आज ठ्याक्कै ५९ वर्ष पुगेको छ । सर्वप्रथम ह्याप्पी बर्थ डे घनकान्त घिमिरे सर ।

ढाका टोपी ढलक्क ढल्काउने, आइरन गरेको सर्टपाइन्टमा चिटिक्क पर्ने अनि त्यसमाथि कालो कोट थपेपछि अग्लो कदका घनकान्त सर यो उमेरका जस्तो देखिँदैन थिए । आफैँ भन्थे– “म मेरो उमेरभन्दा कम्तीमा १० वर्ष कलिलो देखिन्छु ।”

यी रसिला घनकान्त सरले आफ्नै बलबुताले जिउ उठाउन नसकेको १० महिना पुग्नै लागिसकेको छ ।

भुइँतलाको तीनमध्ये पश्चिमतिरको एउटा कोठालाई अस्पतालको क्याबिन जस्तै बनाइएको छ । अस्पतालमै प्रयोग भइरहेको एउटा फलामे शैय्या छ । त्यसको बेड हाइड्रोलिक प्रयोग गरेर घरि उठाइन्छ, घरि फेरि झारिन्छ । मसाज गर्ने अनेक सामान, औषधिका केही बन्दोबस्ती, खकार फाल्न प्रयोग हुने सक्सन मेसिन, पौष्टिक आहारबिहार सबै राखिएका छन् । साइडमा अक्सिजनको सिलिण्डर तम्तयार छ ।

शरीरको तल्लो भाग डाइपरले छोपिएको छ । दाहिने हात ब्याण्डेजले मोडिएको छ । घाँटीमुनि र छातिमाथि ठीक बीचतिर औँलो छिर्ने प्वाल छ । त्यसलाई सेतो टेपले छोपिएको छ । देब्रे खप्परको भाग झिकेर देब्रे पेटतिर छालाले छोपेर राखिएको छ । त्यसैले टाउकोको स्वरुप बेग्लै देखिन्छ । देब्रे आँखा सानो र चिम्से जस्तो देखिन्छ । दाहिने ठीकठाकै छ । शरीरको देब्रे हर सामान्य जस्तै चल्छ । दाहिने हर अचल छ । दाहिने खुट्टा अलिअलि चले पनि कम्मरबाट जति माथि गयो, उति नै कम चल्छन् ।

अस्पतालमा नर्सले दिने जस्तो सेवा दिन परिवारका कोही न कोही हरदम साथमा छन् । उनीहरूले चौबिसै घण्टा उनलाई कुरेको कु¥यै छन् । समयमा खुवाइदिने, समयमा सरसफाइ गरिदिने, बोलाउने, जिस्काउने, मनोरञ्जन गराए जस्तै गर्ने, हाँसिदिने, रोइदिने । उनीहरू थाकेका छैनन् । दिक्दारिएका पनि छैनन् । जरुर आत्तिएका थिए । तर, बिस्तारै सम्हालिएका र आशावादी पनि बनेका छन् ।

समय परिवर्तनशील छ । छिनछिनमै अनेक घटना हुन्छन्, सुनिन्छन् । समाचार अनेक, खबर अनेक, गाइँगुइँ अनेक ! देशमा स्थानीय चुनावको रापताप सकिएकै छैन । चुनावको कुरा नगर्ने मान्छे, परिवार, समाज, टोल कुनै छैन । सामान्यावस्थामै हुन्थे भने घनकान्त सरलाई पनि यो रापले छुन्थ्यो, पोल्थ्यो वा न्यायो बनाउँथ्यो । कसैको जितले उनलाई पनि खुसी बनाउँथ्यो होला वा हारले दुःखी । तर, घनकान्त सरलाई ती कुनै पनि घटना र समाचारले अर्थ राख्दैन वा अर्थ राखेको जानकारी हामी लिन सक्दैनौँ किनकि उनी हामीसँग आवाज मिसाएर संवाद गर्दैनन् ।

हो, साँँच्चै हो, जिन्दगीका करिब ४ दशक शिक्षण पेशामा बिताएका उनी झण्डै १० महिनादेखि आवाजविहीन छन् । प्रतिक्रियाविहीन छन् ।

२०३६ सालदेखि निरन्तर उभिएर पढाएका घिमिरेले कति बोले होलान् ? कैयौँ वर्ष प्रधानाध्यापकको रूपमा काम गरेका उनले कति ठाउँमा के–के बोले होलान् ? के–के विचार व्यक्त गरे होलान् ? ती सबै बोलीहरूलाई रेकर्ड गरेर राखेको भए कति जिबी क्षमताको हार्ड डिस्क भरिन्थ्यो होला ? बिडम्वना भनौँ या समयको खेल, उनी शब्दविहीन छन् ।

भरतपुर महानगरपालिका वडा नम्बर २९ को कविलास माध्यमिक विद्यालयका प्रधानाध्यापक रहेका घिमिरेको जिन्दगी सुखमय नै थियो । लामो समयको शिक्षण सेवा लगभग उत्तराद्र्वमा थियो । अब शिक्षकको रूपमा विद्यालय जाने समय २०८० जेठ ११ सम्म मात्रै थियो ।
जिन्दगी सेतो पानामा सिसाकलमले कोरेको सिधा रेखा जस्तो नहुने रहेछ । यो त बेसरी जेलिएको हुने रहेछ । सुखी परिवारमा खुसी उनका लागि २०७८ साउन १६ गते कालो दिन बनेर आइदियो ।

शनिबारको बिदा थियो । दिनभर घरै बसेका उनी घरायसी काममा थिए । माथिल्लो तलामा लगाइएको जिप्सनभित्र मुसो पसेको रहेछ । श्रीमती बिन्दु र जोठो छोरो राजेशको सहयोगमा उनी मुसो धपाउन लागे । सफा गर्दै जाँदा उनी टिन र जिप्सनबीचको खाली ठाउँमा छिरे । सफा गर्दै अघि बढे । अग्ला कदका उनको वजन पनि धेरै नै थियो । जाबो जिप्सनले कति धानोस्, घ¥याप्पै झ¥यो ।

उनी झरेको घटनाको पहिलो दर्शक थिइन् उनै बिन्दु । घ¥याप्पै झरेका पतिको अवस्थाले उनी विक्षिप्त बनिन् । पछाडिपटि पालीको टिनमा घनकान्त बजारिएका थिए । टिनमाथि परेकोले ठूलो चोट लागेको ठानेकी थिइनन् । तर, नजिक गएर हेर्दा उनको नाकमा फलामे रड छिरेको देखिन् । रगतपक्ष पति देख्दा उनको आङ सिरिङ्ग भयो । पसिना खलखली आयो । दिमाग फुनुनु घुम्यो । छोरो राजेश आएर टिनमाथि हामफाले । बाबुलाई समाते । नाकको देब्रे प्वालतिरबाट छिरेको थियो रड । बाबु अलिअलि आवाज निकाल्दै थिए । दुखेको भाव व्यक्त गर्दै थिए । तर, त्यो होसमा हो कि बेहोसमा उनी भन्न सक्दैनन् । चोट पर्ने कुन अवस्थामा थिए, त्यो थाहा भएन । तर, आमाछोराको होसले काम गरिरहेको थिएन ।

राजेशले रड थुते । लामै भाग छिरेको थियो । वरपर मान्छे बोलाए, टिनबाट जसोतसो भुइँमा झारे । घरमा आफ्नै गाडी थियो । अस्पताल लैजाने तरखर गरे । तर, राजेश आफैँले गाडी चलाएर लैजान सक्ने अवस्था थिएन । छिमेकीलाई चलाउन लगाए । आफू बाबुलाई समातेर पछाडि बसे । चितवन मेडिकल कलेज पु¥याए । “त्यहाँ पु¥याउँदासम्म पनि त्यति गम्भीर लागेको थिएन”, राजेश सम्झन्छन्, “सिटीस्क्यान, एमआरआई र अरू आधारभूत चेकजाँच गरेपछि बल्ल थाहा भयो, बुवाको अवस्था अति जटिल रहेछ ।”

घनकान्तलाई तुरन्तै भेन्टिलेटरमा हालियो । नाकबाट छिरेको रड आँखाको पछिल्लो भाग हुँदै दिमागसम्मै असर गरेको थियो ।
अनेक मान्छे भेला भए–आफन्त, छरछिमेक, शुभेच्छुक तथा बाउछोराका सहकर्मीहरू । बाबु भेन्टिलेटरमा थिए, बेला–बेलामा औषधि ल्याइदेऊ भन्न्ने खबर मात्रै आउँथ्यो । बाँकी अवस्था के हो थाहा भएन । सुखद खबरको आशामा उनीहरू आईसीयूको ढोका कुरिरहे–कुरिरहे ।

चिकित्सक टोलीले ‘पर्ख र हेर’ को शैलीमा काम गरिरहेका थिए । खास खबर केही बताएका थिएनन् । समय मात्रै लम्बिने, सुधारको छेकछन्दै नआउने भएपछि परिवार आत्तिन थाले । ‘काठमाडौँ पो लैजाने कि ?’ भन्न थाले । तर, अति संवेदनशील अवस्थाका घनकान्तलाई भेन्टिलेटरबाट छुटाएर काठमाडौँसम्म पु¥याउने सम्भावना थिएन । चिकित्सकले पनि त्यही भने । जतिबेला पनि शल्यक्रिया गर्नुपर्ने अवस्था आउनसक्ने चेतावनीसहित उनलाई चितवन मेडिकल कलेजमै राखियो । “त्यो दिन र रात जिन्दगीकै सबैभन्दा पीडादायी र अप्ठ्यारो थियो”, राजेश सम्झन्छन्– “केही घन्टा पनि महिनौँ जस्तै लाग्यो ।”

त्यसै रात ३ बजेतिर खबर आयो– ‘स्वास्थ्यमा समस्या आउने देखियो, तुरुन्तै शल्यक्रिया गरिहाल्नुप¥यो ।’ कत्ति पनि ढिला नगरी शल्यक्रिया गरियो । करिब ४ घन्टामा सकियो । शल्यक्रिया सफल भयो । उनीहरूमा थप आशा पलायो । तर, होस थिएन । घनकान्त अझै भेन्टिलेटरमै थिए । बाबुको अवस्थाले गर्दा कान्छो छोरो विपिन भारतबाट तुरुन्तै आए । चार्टर्ड एकाउन्टेन्सीको अन्तिम परीक्षा तयारी गरिरहेका उनले सबै भद्रगोल छोडिदिए । यता राजेशको पत्रकारिताका दौडधुप पनि ठप्पै भयो । अस्पतालमा काम गर्ने स्टाफ नर्स छोरी सिर्जनाको पनि नियमितता बिग्रियो ।

अस्पतालमा घनकान्त मृत्युसँग लडिरहेका थिए । उता बिन्दुलाई खास अवस्था जानकारी थिएन । होस आउला, बाबु जुरुक्कै उठ्लान्, गफगाफ गर्लान् भन्ने आशा गर्दै चितवन मेडिकल कलेजको चिसो भुइँमै बितिरहेका थिए राजेशहरूका रातदिन । आमालाई खास अवस्था बताएकै थिएनन् । “आमा धेरै आत्तिनुहुन्छ भनेर हामीले भन्दै भनेनौँ”, राजेशले सुनाए– “नाकमा मात्रै अलि–अलि समस्या हो भनेर ढाटिरह्यौँ ।”
धेरै कुरा सोध्लिन् र भन्नुपर्ला भनेर राजेश आमाको नजिकै पर्थेनन् । आफूले लुकाएर के गर्नु, दुनियाँ मान्छे घर आउने, अनेकथरि सुनाउने गर्दा रहेछन् । “आमालाई आशाभन्दा निराशाका कुरा बढी सुनाइदिने रहेछन्”, उनले भने– “के गर्नु त यस्तै हो, जे भए पनि मन बुझाउनै पर्छ, एक दिन मर्नु त छँदै छ जस्ता कुरा गरिदिँदा रहेछन् ।”

एकातिर छोराछोरीले अस्पताल जानै नदिने, अर्कातिर अनेक मान्छेले अनेक कुरा सुनाउने, बिन्दु नराम्ररी आत्तिन्थिन् । उकुसमुकुस हुन्थिन् । मन बटारिन्थ्यो । उनी सामान्यावस्थामा थिइनन् । घरको काम मेसो पाउँदिनथिन् । भान्सा छिर्न सक्दिनथिन् । टाउको भारि भइरहन्थ्यो । “आमाको धार्मिक आस्था बढी नै छ, बुवालाई यस्तो भएपछि झन् पूजा कोठामै बस्ने, प्रार्थना मात्रै गरिरहने”, राजेश सुनाउँछन्– “आफन्त र छिमेकीले अनेक सुनाइदिएपछि पूजाकोठामै बस्ने, भगवानको फोटोअगाडि रोइरहने ।”

अस्पताल राख्दा कमैले मात्रै राजेशहरूलाई ‘ठीक गरिस्’ भने । अधिकांशले ‘बेकारमा किन खर्च गरिरहेको’ अर्थ लाग्ने गरी बोल्थे । “धेरै आफन्तले त भेन्टिलेटरबाट झिकौँ, दशदान वैतरणी गरौँसम्म भने”, उनले सुनाए– “कतिपय चिकित्सकले पनि अपरेसन गरेर अर्थै छैन भने, कोमाबाट कहिल्यै बाहिर आउनुहुन्न भने तर मैले एकोहोरो अडान राखिरहेँ, जे त होला अपरेसन त गर्ने नै हो ।”

धेरै दिन अचल, निःशब्द नै रहे घनकान्त । मुखबाट हालिएको रबर पाइपबाट तरल पदार्थ खन्याइन्थ्यो । जिब्रोले त्यसको स्वादै पाएन । सिधै आन्द्राबाट पेटमा पुगे । दिसापिसाब पाइपबाटै जम्मा हुन्थ्यो । उनको प्राण केही आफ्नो शरीरले, धेरै मेसिन र औषधिले धानेको थियो ।

सुरुमा त हरक्षण, हरदिन मान्छेहरू आइरहन्थे । भेटघाट गर्न, गफगाफ गर्न । सधैँ कति सकून् । विस्तारै भेट्न आउनेहरू पातलिन थाले । राजेशहरूले आशा मारेका थिएनन् । जादूमय नै लाग्छ राजेशलाई बुवाले विस्तारै आँखा चलाउने, हातका औँला चलाउने गर्न थाले । “देब्रे दिमागमा असर परेकोले शरीरको दाहिने भाग नचल्ने रहेछ”, उनले भने –“देब्रे भागतिर भने चल्न थाल्यो ।”

अवस्था सुध्रिँदै गएपछि भेन्टिलेटरबाट निकालियो । आईसीयूबाट पनि निकालियो । न्युरो वार्डमा लगियो । मुख्यगरी दाजुभाइ र बहिनी अनि ज्वाइँ खटिएका थिए । साथमा आफन्तहरू पनि दुःख गरिरहेका थिए । न्युरो वार्डमा हात खुट्टामा मालिस गरिदिने, शरीर उठाएर फर्काइदिने, ठाउँ सारिदिने, ह्वीलचियरमा राखेर डो¥याउने गर्नुपथ्र्यो । रातदिन सेवा गर्दा उनीहरू हैरान हुन्थे । तर, कहिल्यै थाकेनन् ।

करिब डेढ महिना चितवन मेडिकल कलेजमै बित्यो । दैनिकी एउटै थियो–बुवाको स्याहार गर्ने । एकदिन जुरुक्कै उठेर हिँड्नुहन्छ बुवा भन्नेमा परिवार आशावादी थियो । सुरुको अवस्थाभन्दा धेरै नै परिवर्तन पाए उनीहरूले बुवाको अवस्थामा । जुरुक्कै उठ्ने अवस्था त परको सपना मात्रै थियो । तर, हातगोडा चलमलाउने, ह्वीलचियरमा अडिने, आँखा चलाउने प्रगति भएको थियो । न्युरो वार्डमा जे जति सुधार भयो, त्यसले झनै आशावादी बनाएको थियो ।

भदौ २८ गते प्राकृतिक उपचार केन्द्र लगे– चित्रवन प्राकृतिक चिकित्सालय । त्यहाँ पनि उनको द्रुत गतिमा उपचार भयो । आधुनिक मेडिकल उपचार पद्दतिले जे जति गर्न सक्ने हो चितवन मेडिकल कलेजले गरिसकेको थियो । बाँकी उपचार प्राकृतिक तवरले गर्न थालियो । “यो उपचारले धेरै राम्रो भयो”, राजेशले भने, “ढिला तर थुप्रै सकारात्मक परिवर्तन देखिए ।”

प्राकृतिक चिकित्सालयमै राखिरहँदा राजेशकी पत्नी सुलोचना पनि जापान बसाइ टुंग्याएर आइन् । झण्डै १० वर्षदेखि जापान रहेकी उनी घरको दैनिकी बिग्रेकै कारण एक्कासि बसाइ टुग्ंयाएर फर्किएकी थिइन् । त्यसपछि उनले पनि पालो दिइन् । घिमिरे परिवार २४ सै घन्टा सेवामा खटिइरह्यो । उनीहरूले दशैँ अस्पतालमै मनाए, तिहार पनि । मंसिर ६ गते ११४ औँ दिनमा घनकान्त सरलाई घर ल्याए ।

त्यसपछि पनि उनी उठेका छैनन् । तर, सुधार धेरै छ । बोलेका छैनन् । तर, नबोली–नबोली संवाद गर्छन् । मुखमा राखिएको रबर ट्युब लामो समयपछि झिकिएको छ । मुखमा राखिदिएको खानेकुरा आफैँ चबाउँछन् । सामान्यावस्थामै निल्छन् । हातमा राखिदिएको किताब वा मोबाइल मज्जाले समाउँछन् । खस्न दिँदैनन् । एकोहोरो हेरिरहन्छन् । केही बुझे कि बुझेनन् झट्टै केही बताउँदैनन् । तर, बुझे जस्तै गर्छन् । सामान्यावस्थामा चिनजानका मान्छे भेट्न आउँदा च्याप्प हात समात्छन् । पिलपिल आँसु खसाउँछन् । अनुहार नराम्ररी बिगार्छन् । केहीबेर रुन्छन् । अनुहार हेर्दा लाग्छ, मनभरिको बह पोख्न खोजेका छन् । मनबाट बटारिएर आएका शब्द घाँटिबाट मुखतिर आउँदैनन् । सिधै माथि जान्छन् । आँसु बनी आँखाबाट खस्छन् । ती शब्दविहीन पानीथोपो अझै शक्तिशाली देखिन्छन् । सलल बगेर जान्छन् शुभचिन्तकका मनमा खलबली मच्चाएर ।

घनकान्त सर अन्तिमपल्ट २०७८ साउन १५ गते कविलास मावि गएका थिए । २०७१ फागुनमा लमजुङको बाहुनडाँडास्थित चन्द्रोदय माविबाट सरुवा लिई आएका उनी विद्यालयको अन्तिम दिनसम्मै हेडमास्टर रहे । सामान्यावस्था भए उनी अर्को साल आजकै दिन यो विद्यालयबाट भव्यतासाथ बिदा हुन्थे । विधिको विधान, दैवको खेलो उनले त्यस्तो बिदाइ पाएनन् । तत्कालै उठेर फेरि काममा जाने सम्भावना नदेखिएपछि गत माघ ३ गते परिवारले उनको शिक्षण सेवा टुंग्याए । यो भन्न सकिन्न कि घनकान्त सरलाई आफ्नो जागिर टुंगिएको पूरा जानकारी छ कि छैन, यो भन्न सकिन्न कि घनकान्त सरले हेडसरका रूपमा अब आफ्नो हैसियत बाँकी नभएको भेउ पाएका छन् कि छैनन् । तर, केही दिनअघि उनकै घरमा पुगेका कविलास माविका शिक्षक स्टाफमाझ मुख बिगारेर पिलपिल आँसु खसाएका थिए ।

घनकान्त सर विद्यालय जान नसकेपछि अहिले कविलासमा निमित्त प्रधानाध्यापक छन् राजु कुमार सापकोटा । बिदाइका लागि निवासमै पुगेका सापकोटाले भने– “हेडमास्टरका रूपमा उहाँ हाम्रो अभिभावक हुनुहुन्थ्यो, प्राविधिकरूपमा अहिले हेडमास्टर नभए पनि हाम्रो मनमा हेडमास्टर नै हुनुहुन्छ र भइरहनु हुनेछ ।”

अध्यात्मप्रति घनकान्त सरको आस्था अनौठो छ । भगवान् छन् भन्नेमा उनी जति पनि तर्क गर्न सक्छन् । पंक्तिकार घनकान्त सरसँगै एउटै विद्यालयमा पढाउँछ । खाली समयमा उनी भगवान्, अध्यात्म, धर्मको शक्ति, ईश्वरको कथा आदि आदि विषयमा थुप्रै किस्सा सुनाउँथे । कथा भन्थे । प्रवचन दिन्थे । त्यसो त पंक्तिकारलाई धर्म र भगवान्मा खासै विश्वास लाग्दैन । तैपनि घनकान्त सरको कथा सुनाउने शैलीको फ्यान हो । कथाकै बीचमा एक दिन घनकान्त सरले सुनाए– “अध्यात्ममा यति शक्ति हुन्छ कि, मसँग एउटा मन्त्र छ, त्यसले हाम्रो आसपास पर्दै गरेको चट्याङलाई पनि अन्तै मोडिदिन सक्छ ।” उनले त्यसैगरी मन्त्र जपेरै कैयौँचोटि चट्याङ मोडिदिएको दाबी पनि गरे ।

अर्को एकचोटि उनले भने– “ॐ एउटा यस्तो शक्तिशाली मन्त्र हो, यसलाई २० लाख चोटि जप गर्ने मान्छे बेस्सरी शक्तिशाली हुन्छ, उसले जे चितायो त्यो पूरा हुन्छ ।” तालैतालमा पंक्तिकारले सोध्यो– “के तपाईंले यो मन्त्र २० लाख चोटि जपिसक्नुभयो ?” जवाफमा उनले भने– “होइन, पु¥याउन सकिएकै छैन, चानचुन १० लाख पुगे होलान्, १० लाख चोटि बाँकी नै छन् ।” म अहिले कामना गरिरहेको छु कि, उनले त्यो संवादपछि बाँकी १० लाख चोटि ॐ वाचन गरिसकेका होऊन् र त्यसले उनलाई शक्तिशाली बनाएर चिताएका पूरा गर्न सक्ने बनाएको होओस् ।

राजेशसँग हिजो अस्पताल बस्दा एउटा दरिलो आशा थियो –‘बुवा एकदिन जुरुक्कै उठेर हिँड्नु हुनेछ ।’ १० महिना बित्नै लाग्दा उनको त्यो आशा घटायो कि थप बढेको छ, म जान्दिनँ । तर, यो परिवारको निरन्तरको लगाव र घरमुलीप्रतिको दायित्वबोध अनुकरणीय छ । उनीहरूको यो माया र साथ जुनकुनै परिवारमा देखिन्न ।

आज ५९ औँ जन्मदिन मनाउँदा यो परिवारले फेरि एकपटक जुरुक्कै उठेको श्रीमान्, बुवा, ससुरा हेर्ने चाहना व्यक्त गर्ने छ, कामना गर्ने छ । हामी चाहन्छौँ, त्यो कामना पूरा होस् ।

ह्याप्पी बर्थ डे घनकान्त सर !

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट