एमाले गैँडाकोटको प्रतिबद्धता : निःशुल्क उपचार

गैँडाकोट, १९ वैशाख ।
नेपाल कम्युनिष्ट पार्टी एमाले गैँडाकोट नगर कमिटीले सोमबार स्थानीय निर्वाचन २०७९ को लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । ‘समृद्धि, समानता र समाजवादको आधार गैँडाकोट नगरपालिकामा एमालेको सरकार’ भन्ने नारासहित सार्वजनिक प्रतिबद्धता पत्रमा विगतको ५ वर्षमा एमालेको नेतृत्वले गरेका मुख्य कामहरु सहित थप योजना सार्वजनिक गरिएको छ ।

विगतको अनुभव र वर्तमानको योजनाका आधारमा आगामी पाँच वर्षमा गर्ने काममा नेकपा एमाले नगर कमिटीले प्रमुख प्राथमिकतामा नेपाल विश्वविद्यालय निर्माण सम्पन्न गरी अध्यापन संञ्चालन गर्ने प्रतिवद्धता जनाएकोे छ । प्रतिबद्धतापत्रमा उल्लेख भए अनुसार प्राविधिक शिक्षालयको व्यवस्था, पूर्ण साक्षर नगर, प्रत्येक वडामा सार्वजनिक पुस्तकालयको व्यवस्था, माध्यमिक तहसम्मको शिक्षा पूर्ण निःशुल्क गरिने छ ।

स्वास्थ्यतर्फ स्थानीय स्वास्थ्य बीमा कार्यक्रम, स्वास्थ्यचौकीहरुको स्तरोन्नति, एक वडा एक एम्बुलेन्स, सुत्केरी महिलालाई ३ हजार भत्ता, मिर्गौला रोगीहरुलाई यातायात खर्च १५ सय, जेष्ठ नागरिकलाई निशुल्क उपचार लगायत रहेका छन् ।

कृषि प्रणालीलाई यान्त्रीकीकरण र वैज्ञानिकीकरण गरिने, उत्पादनका हिसाबले अब्बल वडाहरुलाई धान र मकै पकेट क्षेत्रको रुपमा विकास गरिने, सिँचाई तथा पशुपालनतर्फ कुलो एवं बोरिङ निर्माण, खेतीयोग्य जमिन बाँझो राख्न नपाइने, मलबीउको उचित प्रबन्ध गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ ।

प्रतिबद्धतापत्रमा दश हजार लिटरसम्म पिउने पानी निःशुल्क उपलब्ध गराउने, उपयुक्त स्थानहरुमा सार्वजनिक शौचालयको व्यवस्था गरिने, रिङरोड निर्माणको अभियानलाई सम्पन्न गरिने, तटबन्ध विशेष कार्यक्रम, गोबरग्याँस प्लान्ट राख्नेलाई ७५ प्रतिशत अनुदान, उज्यालो गैँडाकोट अभियान, निर्माणाधीन केबलकारलाई देवघाटसम्म बिस्तार गरिने भनिएको छ ।

सहकारी रोजगारी कार्यक्रम अन्तर्गत १५ अर्ब पूँजीका ४० सहकारीमार्फत एक हजार जनालाई रोजगारीको सिर्जना गरिने, नगरपालिकालाई सहकारीग्रामको रुपमा घोषणा गरिने, बन्द रहेका उद्योग तथा कलकारखाना सञ्चालन गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ ।
अघिल्लो प्रतिबद्धतामा उल्लेख भएको “गण्डकीको पानीमा गैँँडाकोटको लगानी” कार्यक्रम पूरा गर्न थप पहल गरिने प्रतिबद्धतापत्रमा घोषणा गरिएको छ । सरकारलाई तिर्ने शुल्कहरु अनलाइनमार्फत तिर्ने व्यवस्था मिलाइने, सूचनाको हकको सम्मानका साथै सुकुम्बासी तथा अव्यवस्थित बसोबासलाई व्यवस्थित गरिने बताइएको छ ।

नेकपा एमालेले यसअघिको निर्वाचनमा गैँडाकोटमा नगर प्रमुखसहित ८ वटा वडामा विजय हासिल गरेको थियो । नेपाली राजनीतिको सबैभन्दा ठूलो, व्यवस्थित र लोकप्रिय पार्टी नेकपा एमाले रहेको भन्दै मेयर पदका उम्मेदवार छत्रराज पौडेलले सूर्य चिह्नमा भोट हाली एमालेका उम्मेदवारहरु निर्वाचित गराउन सबै नगरवासीलाई आह्वान गरे । भविष्यप्रति आशावादी हुन सिकाउने एमाले पार्टी विशेषगरी युवाहरुको भविष्य निर्माणप्रति ज्यादै संवेदनशील र जिम्मेवार रहेको पौडेलको भनाइ थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट