काठमाडौँ, १९ वैशाख ।
नवनियुक्त प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले दर्ज्यानी चिन्ह लगाएका छन् । गृह मन्त्रालयमा सोमबार गृहसचिव टेकनारायण पाण्डेले उनलाई प्रहरी महानिरीक्षको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
दर्ज्यानी चिन्ह लगाएपछि सञ्चारकर्मीहरुसँग बोल्दै नवनियुक्त महानिरीक्षक सिंहले सांगठनिक क्रियाकलापहरुलाई प्रक्रियागत एवं पारदर्शी बनाइ कर्मचारीहरुमा जवाफदेहीता बढाउने र अकर्मण्यता पूर्ण रुपमा निर्मुल गर्ने, भ्रष्टाचारको शून्य सहनशीलता कायम राख्ने कुरामा आफ्नो प्रतिवद्धता रहेको बताए ।
नवनियुक्त प्रहरी महानिरीक्षक सिंहले स्थानीय तहको निर्वाचनमा प्रत्येक नागरिकहरुले आफ्नो अधिकारको प्रयोग गर्न सक्ने निर्वाचन सुरक्षा योजनाअनुरुप प्रहरीको सम्पूर्ण श्रोत, साधनहरु प्रभावकारी रुपमा परिचालित हुने पनि स्पष्ट पारे ।
उनले भने, ‘सांगठनिक क्रियाकलापहरुलाई प्रक्रियागत एवं पारदर्शी बनाइ कर्मचारीहरुमा जवाफदेहीता बढाउने र अकर्मण्यता पूर्ण रुपमा निर्मुल गर्ने, भ्रष्टाचारको शुन्य सहनशीलता कायम राख्ने, अपराधिक तत्वसँगको साँठगाँठलाई निमिट्यान्न पार्ने केन्द्रमा राखी आफ्ना सहकर्मीहरुलाई साथमा लिइ संगठन सुधारका कार्यहरु लागू गर्ने प्रतिवद्धता जनाउँछु । अहिलेको राष्ट्रिय प्राथमिकता भनेको स्थानीय तहको निर्वाचन हो । यस निर्वाचनलाई सुरक्षित, भयरहित तवरबाट प्रत्येक नागरिकहरुले आफ्नो अधिकारको प्रयोग गर्न सक्ने निर्वाचन सुरक्षा योजनाअनुरुप प्रहरीको सम्पूर्ण श्रोत साधनहरु प्रभावकारी रुपमा परिचालित हुनेछ भन्ने व्यहोरा निवेदन गर्न चाहन्छु ।’





