भरतपुर, १९ वैशाख ।
स्थानीय तह निर्वाचन २०७९ का लागि जिल्लामा मतपत्र ढुवानीको काम धमाधम भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
आइतबारसम्म ६० जिल्लामा मतपत्र ढुवानी भएको आयोगले जनाएको हो। १७ जिल्लामा मतपत्र पठाउन बाँकी रहेकोमा केही जिल्लामा सोमबार बिहानै मतपत्र पठाइने आयोगको जनाएको छ ।
आयोगका अनुसार वैशाख १७ गतेसम्म ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएको थियो । यस्तै १८ गते लुम्बिनी प्रदेशका सबै जिल्लाका लागि मतपत्र पठाइएको छ ।
अब मधेस प्रदेशका आठ जिल्ला, प्रदेश १ को मोरङ, बागमती प्रदेशको रसुवा, चितवन, ललितपुर, काठमाडौं, भक्तपुर, रामेछाप, सिन्धुली र जनकपुरमा मतपत्र पठाउन बाँकी रहेको आयोगले जनाएको छ । रामेछाप, सिन्धुली र दोलखामा आज बिहान पठाइने आयोगको भनाइ छ ।
कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश १ का मोरङबाहेक सबै जिल्ला र गण्डकीको पोखरा महानगरबाहेक सबै स्थान, बाग्मती प्रदेशका ५ जिल्लामा मतपत्र पुगिसकेको छ । वैशाख २३ गतेसम्म सबै ठाउँमा मतपत्र ढुवानी छ ।





