भरतपुर, १७ वैशाख ।
विमल फार्मेसीको आयोजनामा भरतपुरमा रक्तदान गरिएको छ । `रक्तदान जीवनदान रक्तदान महादान, रगत दिऔँ जीवन बचाऔँ´ भन्ने नारा सहित फार्मेसीले आयोजना गरेको रक्तदान कार्यक्रममा कुल २८ जनाले रक्तदान गरे ।
सामाजिक सेवाका अभियानकर्मी मुरलीप्रसाद गजुरेलले पहिलो रक्तदाताको रूपमा रक्तदान गरेर कार्यक्रम सुरु गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका मन्त्री हरि पौडेलले पहिलो रक्तदाता गजुरेललाई ब्लड ब्याग दिएर कार्यक्रमको उद्घाटन गरिएको थियो ।
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले विमल फार्मेसीले औसधिको व्यवसाय गरे पनि परोपकार र मानवीय सेवामा रक्तदान कार्यक्रमको आयोजना गरेर स्तुत्य काम गरेको बताए । फार्मेसीका सञ्चालक विमल लामिछानेले आफ्नो उद्देश्य व्यापार मात्रै नभएर मानवीय सेवाभावको पनि रहेको बताए ।
क्यान्सर अस्पतालको गेट अगाडि फार्मेसीकै आँगनमा शनिबार बिहान आयोजना गरिएको रक्तदान कार्यक्रममा स्थानीय, पत्रकार, स्वास्थ्यकर्मी तथा सामाजिक व्यक्तित्वले रक्तदान गरेका थिए । रक्तदाताको रूपमा ४३औं पटक रक्तदान गर्नेदेखि पहिलोपटक रक्तदान गर्न आउने पनि कार्यक्रममा सहभागी थिए । कार्यक्रमलाई ब्लड डोनर्स सोसाइटी नेपालले सहकार्य गरेको थियो । विमल फार्मेसीको तर्फबाट सञ्चालकका पिता बिष्णु लामिछानेले कार्यक्रमको अध्यक्षता गरेका थिए । अध्यक्ष लामिछानेले रक्तदाता सबैलाई प्रमाणपत्र प्रदान गरेका थिए ।





