काठमाडौं, १८ चैत ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलाई लिएर प्रश्न उठाएका छन् ।
अनेरास्ववियु केन्द्रीय कमिटीको प्रथम बैठक तथा विस्तारित भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानय चुनावकाे मुखमा भएकाे प्रधानमन्त्रीकाे भारत भ्रमणबारे प्रश्न उठाएका हुन् । उनले भने- ‘प्रधानमन्त्रीजी विदेश (भारत) जानुभएको छ, ठ्याक्कै चुनाव अगाडि किन जानुभयो कुन्नि ? आएपछि सोध्नुपर्ला, यति समय जानुभएन, यति बेलै किन जानुभो भनेर ।’
सम्बाेधनकाे सुरुमै कांग्रेसप्रति व्यंग्य गरेका अध्यक्ष ओलीले विदेश गएका बेला प्रधानमन्त्रीको आलोचना नगर्ने पनि बताए । कांग्रेस सही पार्टीसँग धेरैसमय मिल्न नसक्ने पनि उनले बताए । अध्यक्ष ओलीले भने – ‘कांग्रेसले राष्ट्रियता विरोधी र कुच्चिएका भाँडासँग, बिकाउ मालसँग उठबस गरिरहेको छ, प्रतिगामी तत्वहरुसँग कांग्रेसले सहकार्य गर्छ र गरिरहेको छ ।’ राणा शासक र कांग्रेसबीच केही फरक नभएको उनकाे भनाइ छ ।





