भरतपुर, १४ पुस ।
नेकपा माओवादी (केन्द्र) को आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन उपर समूहगत धारणा राख्ने क्रम चलिरहेको छ । समूहगत धारणा राख्ने क्रममा बागमती प्रदेश ‘क’ बाट सरल सहयात्री पौडेलले पार्टीले ‘प्रचण्डपथ’ को साटो ‘प्रचण्ड विचार’ धारा राख्न सुझाव दिएका छन् ।
यसअघि माओवादी अध्यक्ष प्रचण्डले पार्टीको राजनीतिक अवधारणाबाट प्रचण्डपथ त्याग्नु गलत भएको बताएका थिए । राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका थिए । बागमती प्रदेश ‘क’ बाट सुझाव दिँदै पौडेलले प्रचण्डपथको सट्टामा प्रचण्ड विचार राख्न सुझाव दिएका हुन् ।
यस्तै, गण्डकी प्रदेशबाट समूहगत छलफलको निष्कर्ष सुनाउँदै केन्द्रीय सदस्यहरूले आफ्नो छोराछोरीलाई अनिवार्य रुपमा समुदायिक विद्यालयमा पढाउनुपर्ने प्रस्ताव गरेको छ ।
संघीय संरचनाअन्तर्गत रहेर वैज्ञानिक शिक्षा नीति लागू गर्नुपर्ने सुझाव उक्त समूहले राखेको हो ।
महाधिवेशन बन्दसत्रमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे पनि छलफल भएको थियो । जहाँ, अधिकांश प्रतिनिधिहरूले विपक्षमा मत राखे ।
समूहगत छलफलपछि आफ्नो समूहको निष्कर्ष सुनाउने क्रममा प्रवास समन्वय कमिटीतर्फबाट मनऋषि धितालले एमसीसी पारित गर्न नहुने मत राखेका छन् । एमसीसी संशोधन नगरी संसदबाट अनुमोदन गर्न नहुने उनको समूहको निष्कर्ष छ ।





