काठमाडौं, १२ पुस ।
नेकपा (माओवादी केन्द्र)ले नारायणकाजी श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष बनाउने तयारी गरेको छ । जारी आठौं महाधिवेशनबाट चयन हुने नयाँ कार्यसमितिमा श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष बनाउने तयारी गरिएको हो । यसअघि केन्द्रीय समितिले १५ जना पदाधिकारी बनाउने प्रस्ताव गरेको थियो ।
अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’पछि दोस्रो वरीयतामा रहेका श्रेष्ठ नै वरिष्ठ उपाध्यक्ष हुने निश्चितजस्तै रहेको एक केन्द्रीय सदस्यले बताए । श्रेष्ठलाई व्यवस्थापन गर्नेगरी वरिष्ठ उपाध्यक्षको व्यवस्था गरिएकोले अन्य नेताको दाबी नहुने ती सदस्यको भनाइ छ ।
उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्षमा व्यवस्थापन गर्न प्रचण्डलाई सजिलो भए पनि महासचिवमा सबैभन्दा धेरै सकस हुने देखिएको छ ।
माओवादीले जारी महाधिवेशनबाट उपाध्यक्ष ६ जना, उपमहाचिव दुई जना, सचिव तीन जना बनाउने भएकोले पदीय व्यवस्थापन गर्न खासै समस्या नहुने बताएको छ ।
तर, महासचिवमा जनार्दन शर्मा, वर्षमान पुन र पम्फा भुसाल तीन जनाले दाबी गरेपछि सर्वसम्मत हुने सम्भावना कम छ । पुन चीनमा उपचाररत भएकाले महाधिवेसनमा सहभागी हुन पाएका छैनन् । शर्मा र भुसालले महासचिव हुनेगरी आफूनिकट नेताहरुलाई माहोल बनाउन लागिसकेका छन् । एकले अर्कालाई सजिलै छोड्नसक्ने सम्भावना कम भएकाले सर्वसम्मत हुन गाह्रो हुने ती नेताले दाबी गरे ।
महासचिवमा सजिलै मिल्नसक्ने सम्भावना नभएकाले अध्यक्षमा प्रचण्ड, वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ तथा केन्द्रीय समिति मात्रै घोषणा गरेर बाँकी पदाधिकारी पछि घोषणा हुनसक्ने एक केन्द्रीय सदस्यले बताए । यस्तो भएको खण्डमा पछि अध्यक्ष प्रचण्डले केन्द्रीय समितिबाट निर्वाचन गरेर बाँकी पदाधिकारी चयन गर्नसक्ने उनको भनाइ छ ।





