रत्ननगर, १० पुस ।
न्यू क्यपिटल कलेज रत्ननगर टाँडीमा शुक्रबार कविता प्रतियोगिता आयोजना भयो । कलेजको सभाहलमा आयोजित प्रतियोगिता अलि रोचक देखियो । अधिकांश प्रतियोगिताहरूमा छात्र ज्यादा र छात्रा न्यून अथवा शून्य रहन्थ्यो । तर यहाँको प्रतियोगितामा भने ठिक विपरीत देखियो । प्रतियोगितामा सहभागी १९ जनामा छात्राको संख्या १८ थियो भने छात्र १ जना मात्रै थिए ।
कक्षा ११ र १२ का विद्यार्थीहरू विचको प्रतियोगितामा मातृप्रेम, देशप्रेम र समसामयिक बिषयमा लेखिएका कविताहरू प्रस्तुत भए ।
प्रतियोगितामा छात्राहरू नै पुरस्कृत बने ।
कक्षा १२ कि सुस्मिता अधिकारीले प्रथम स्थान हासिल गरिन् । उनले `मलाई चिन्यौ ?´ शीर्षकको कविता प्रस्तुत गरेकी थिइन् ।
त्यसैगरी द्वितीय स्थान विद्या खनालले हासिल गरिन् । कक्षा ११ की उनले `नारी´ शीर्षकको कविता सुनाएकी थिइन् ।
प्रतियोगितामा तृतीय स्थान प्राप्ति मरहट्ठाले हासिल गरिन् । कक्षा ११ की प्राप्तिले `नशा´ शीर्षकको कविता सुनाएकी थिइन् । त्यसैगरी
सान्त्वना पुरस्कार कक्षा १२ की निशा शर्माले जितिन् । निशाले `आमा´ शीर्षकको कविता वाचन गरेकी थिइन् । प्रतियोगिताको निर्णायकका रूपमा विद्यालयका शिक्षक दुर्गा घिमिरे र नरेन्द्र पौडेल थिए ।
प्रतियोगितामा कविता वाचन गर्नेहरूमा रिती अर्याल, प्रतिभा शर्मा, उपमा प्रधान, अलिसा पौडेल, रश्मि कार्की, रचना अधिकारी, गंगा वस्नेत, प्रसुना रिजाल, दीक्षा कँडेल, एलिना चौधरी, युग परियार, प्रसंशा भट्ट, आशिका अधिकारी, स्मारिका नेपाल र साधना चौलागाईं थिए ।
कार्यक्रमका प्रमुख अतिथिका रूपमा मकवानपुर बहुमुखी क्याम्पसका सहप्राध्यापक एवम् साहित्य चिन्तक उदय अधिकारी थिए । कार्यक्रममा सहभागी सबै विद्यार्थीले राम्राराम्रा कविता सुनाएको प्रमुख अतिथि अधिकारीले बताए । अतिरिक्त पुस्तक पढ्ने र समसामयिक बिषयमा चासो राख्दा धेरै कुराको ज्ञान प्राप्त हुनाले विद्यार्थी जीवनदेखि नै अतिरिक्त किताब पढ्ने र घुमफिर गर्ने बानी बसाल्न विद्यार्थीलाई अधिकारीले सुझाव दिए ।
कार्यक्रमका अतिथि लेखक एवम् प्राध्यापक सिर्जन अविरलले विद्यार्थीहरूमा कविता सिर्जनाको अभ्यास आशालाग्दो देखिएकोले यसलाई निरन्तरता दिन अनुरोध गरे । कलेजका प्राचार्य भुपेन्द्र धितालले आफ्ना विद्यार्थीको क्षमता र संभावनालाई कलेजले सहि ठाउँमा प्रयोग गराउने बताए । `मलाई अब झन् बढी चिन्ता भयो, तपाईंहरूमा रहेको यो सिर्जनात्मक खुबीलाई कतै हामीबाट बेवास्ता हुने त होइन´ धितालले भने – `तपाईंहरूको यो प्रतिभालाई सहि ठाउँमा प्रयोग गर्न र गराउन कलेज टिम सदैव तत्पर रहनेछ ।´ अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरूलाई सदैव सहभागी गराएर उनीहरूमा भएका क्षमता र प्रतिभालाई सहि ठाउँमा प्रयोग गर्ने कलेजको नीति रहेको प्राचार्य धितालले बताए ।
कार्यक्रममा शिक्षकहरू बिष्णु सापकोटा र बिष्णु पौडेल अपरिचितले पनि कविता सिर्जनामा यहाँका विद्यार्थीको लगाव लोभलाग्दो रहेको प्रतिक्रिया दिए । पुरस्कृत ४ जना कविलाई कलेजका प्राचार्य धितालले नगदसहित सम्मान गरेका थिए ।





