काठमाडौं, २ पुस ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट आठ सहमहामन्त्री निर्वाचित भएका छन् । महिला, दलित, आदिवासी/जनजाति, खसआर्य, मधेसी, मुस्लिम, थारु र पिछडिएको क्षेत्र गरी आठ क्लस्टरबाट एक/एक जना सहमहामन्त्री निर्वाचित भएका हुन् ।
आठमध्ये ६ जना शेरबहादुर देउवा प्यानलबाट र २ जना शेखर कोइराला प्यानलबाट निर्वाचित भएका छन् ।
महिलातर्फको सहमहामन्त्रीमा कमला पन्त र महालक्ष्मी उपाध्याय ‘डिना’ प्रतिस्पर्धामा थिए । जसमा उपाध्यायले कोइराला प्यानलकी उम्मेद्वार पन्तलाई पराजित गरिन् । उपाध्याय देउवा प्यानलकी हुन् ।
त्यस्तै, दलिततर्फको सहमहामन्त्रीमा कोइराला प्यानलका जीवन परियार विजयी भए । प्रतिस्पर्धात्मक रुपमा परियारले देउवा समूहका मानबहादुर विश्वकर्मालाई पराजित गरेका हुन् । सो क्लस्टरमा परियार र विश्वकर्मासहित गंगा सुनार पनि प्रतिस्पर्धामा थिइन् ।
आदिवासी जनजाति क्लस्टरतर्फ देउवा प्यानलका भीष्मराज आङ्देम्बे निर्वाचित भए । आङ्देम्बेले शेखर प्यानलका विकास लामालाई पराजित गरेका हुन् ।
खसआर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर विजयी भए । उनी देउवा प्यानलका हुन् । उनले प्रतिस्पर्धी देवराज चालिसेलाई पराजित गरेका हुन् ।
त्यस्तै, मधेसी क्लस्टरतर्फ पनि देउवा प्यानलकै महेन्द्र यादव विजयी भए । उनले कोइराला प्यानलका रामकृष्ण यादवलाई पराजित गरेका हुन् ।
यसैगरी, मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर विजयी भए । उनी पनि देउवा समूहका हुन्। उनले कोइराला प्यानलका शेख वकिललाई हराए ।
थारूतर्फको क्लस्टरबाट कृष्णप्रसाद सिटौला टिमका उमाकान्त चौधरी निर्वाचित भए । उनी सिटौला टिमका भएपनि देउवा प्यानलबाट चुनाव लडेका थिए । उनले सुरेन्द्र प्रसाद चौधरी र तेजुलाल चौधरीलाई हराएका हुन् ।
यता, पिछडिएको क्षेत्रतर्फ कोइराला प्यानलबाट उम्मेद्वार बनेका बद्री पाण्डे निर्वाचित भए । पाण्डे कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पराजित गर्दै सहमहामन्त्री बनेका हुन् । शाही देउवा प्यानलबाट सहमहामन्त्रीको उम्मेद्वार बनेका थिए ।





