भरतपुर, २ पुस ।
भरतपुरस्थित अर्किड स्कुलले विद्यार्थीहरुको वाककला प्रतिभा प्रष्फुटनको लागि “पब्लिक स्पिकिङ च्याम्पियनसिप-२०७८” आयोजना गरेको छ ।
स्कुल प्राङ्गणमा आयोजित कार्यक्रममा २५ जना विद्यार्थीले आफ्नो बोल्ने कला प्रदर्शन गरेका थिए ।
अर्किड स्कुलकी अतिरिक्त क्रियाकलाप संयोजक प्रतीक्षा श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा संचारकर्मीद्वय मनोज पन्त र करिश्मा थापाले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।
सो कार्यक्रममा कक्षा- ८ मा अध्ययनरत विद्यार्थी आयुश्री पौडेल पब्लिक स्पिकिङ च्याम्पियन बन्न सफल भएकी थिइन् भने कक्षा- ७ मा अध्ययन गर्ने बिपु पण्डित फर्स्ट रनरअप, कक्षा- ६ मा अध्ययन गर्ने उपासना कंडेल सेकेन्ड रनरअप र कक्षा- ६ मा अध्ययन गर्ने रिमिशा कर्ण थर्ड रनरअप भएका थिए ।
बिजेता विद्यार्थीहरुलाई विद्यालयका सह प्राचार्य ओमराज मैनालीले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रमको संयोजन विद्यालयका शिक्षक मिलन पनेरुले गरेका थिए ।





