काठमाडौं, २७ मंसिर ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत आज नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ ।
सभापतिसहितको पदाधिकारी र केन्द्रीय सदस्यका लागि हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिएका छन् ।
कांग्रेस केन्द्रीय समितिका लागि सभापतिसहित १ सय ३४ पदका लागि झन्डै पाँच सय जनाले उम्मेदवारी दिएका छन् ।
निर्वाचनलाई मध्यनजर गरेर आइतबार दिउँसोदेखि नै महाधिवेशनस्थल र वरपर भृकुटीमण्डप, राष्ट्रियसभा गृह र नेपाल प्रहरी क्लबमा सुरक्षा व्यवस्था कडा पारिएको छ । महाधिवेशन प्रतिनिधिहरूलाई परिचयपत्रमा रहेको फोटो हेरेर मात्रै भित्र छिर्न दिइनेछ । महाधिवेशन प्रतिनिधिबाहेकलाई छिर्न रोक लगाइएको छ ।
कसैलाई छिर्न दिइएको छैन । प्रतिनिधि नभएका नेता कार्यकर्तालाई आइतबार दिउँसैदेखि महाधिवेशनस्थल भृकुटीमण्डपसहित राष्ट्रियसभा गृहमा प्रवेशमा रोक लगाइएको छ ।
कांग्रेसको निर्वाचन समितिले आइतबार सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार चुनावमा सभापतिका लागि पाँच जना भिड्दै छन् भने दुई उपसभापतिका लागि सात जना र दुई महामन्त्रीका लागि पाँच जनाले प्रतिस्पर्धा गर्दै छन् । त्यस्तै खुला तथा समावेशी गरी ८ सहमहामन्त्री पदमा १९ जनाको उम्मेदवारी परेको छ ।
त्यसैगरी ३५ जना खुला केन्द्रीय सदस्यका लागि ९९ जना भिड्नेछन् भने ९ महिला खुला केन्द्रीय सदस्यका लागि ३० जनाको प्रतिस्पर्धा हुनेछ ।
कांग्रेसमा सभापतिमा निर्वाचित कुल मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेमा पहिलो र दोस्रो प्रतिस्पर्धीबीच दोस्रो चरणको मतदान हुनेछ ।





