भरतपुर, १५ कात्तिक ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चितवनमा महाधिवेशन गर्ने कुरा ठूलो नभएको बताएका छन् । सोमबार एमालेको भतरपुर महानगर कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले यहाँ महाधिवेशन गरे पनि, नगरे पनि जित्ने दाबी गरे ।
चितवनमा महाधिवेशन गर्ने कुन्सा ठूलो कुरा भयो,’ प्रचण्डतिर संकेत गर्दै ओलीले भने, ‘किन छटपटी ? महाधिवेशन गरेरमात्रै हामीले यो जिल्ला जित्ने होइन । महाधिवेशन गरे पनि, नगरे पनि हामी जित्छौं ।’
ओलीले रेणु दाहाललाई कांग्रेसले बोकेको, आफूहरूले पनि गल्तीबस् बाउ (प्रचण्ड) लाई बोकेको भन्दै अब त्यस्तो गल्ती नहुने बताए । ‘छोरी बोकेर कांग्रेसले बढ्तै फुर्ती देखाएको थियो, हामीले पनि लौन त भनेर बाउ बोकेको,’ ओलीले भने, ‘ अब त्यस्तो गल्ती गर्नु हुँदैन । जनताले एकपटक धोका पाए । म त झुक्किएर दुई-दुई पटक भोट माग्न आएँ । अब त्यो जमना गयो ।’
महानगरकी मेयर रेणु दाहाललाई लक्षित गर्दै उनले भने, ‘फेरि मतपत्र च्यात्ने सपना नदेखे हुन्छ ।’
ओलीले सेटिङ गरेर अदालत मिलाएर आफूलाई हटाइएको दाबी गरे । संवैधानिक ढंगले अघि बढेर हटाउन नसकेपछि असंवैधानिक बाटोबाट मर्यादित संस्थाहरूको हुर्मत लिएर परमादेशबाट सरकार बनाएको बताए ।
‘अहिले त न्यायधीशहरूले नै बकपत्र गर्न थालिहाले, हामीले भन्नै पर्दैन,’ उनले भने, ‘नेकपा एमालेलाई कसै गरे पनि संवैधानिक बाटोबाट हटाउन सकिँदैन भन्ने भएपछि सेटिङ मिलाइयो ।
सरकार फेरबदल गर्न पनि आफूहरूको रुची नभएको ओलीले बताए । ‘हामी सरकार फेरबदलतिर छैनौं, हामी चुनावको तयारीमा छौं ।’
अहिलेको सत्ता गठबन्धन दुई-दुई पटक चुनावबाट भागेको भन्दै ओलीले अब भने भाग्न नसक्ने बताए । उनले भने, ‘चुनावबाट कहिलेसम्म भाग्लान् यिनीहरू ? दुई पटक भागे तर अब आफैं चुनाव घोषणा गर्नुपर्छ ।’





