देवचुली, ९ कात्तिक ।
नवलपुरको देवचुली नगरपालिकामा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था देशकै नमुना खानेपानी संस्था भएको गण्डकी प्रदेशसभा सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति रोशनबहादुर गाहाले बताएका छन् । सोमबार प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ४ कोठे भवन र ३०० घनमिटर क्षमताको पानी ट्यांकी समुद्घाटन समारोहमा उनले यस्तो बताएका हुन् ।
अन्य जिल्लामा रहेका खानेपानी संस्थासहित संघीय खानेपानीका व्यक्तिहरुलाई नमुना खानेपानी हेर्नका निम्ति नेपाल सरकारले नवलपुर जिल्लाको प्रगतिनगर खानेपानी संस्थालाई इंगित गरेकोले पनि प्रगतिनगर खानेपानी संस्था देशकै नमुना खानेपानी भएको गाहाले बताए । गण्डकी प्रदेशको तत्कालिन सरकारले एउटा लक्ष्य र योजनासहित खानेपानी आधारभूत योजना हो, यसलाई समयमै उपभोक्ताहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउने लक्ष्यसहित गण्डकी प्रदेश उज्यालो प्रदेशको रुपमा तथा गण्डकी प्रदेशमा रहेका उपभोक्तालाई“एक घर एक धारा” को अवधारणा अनुसार योजनाहरु तय गरेको जानकारी गराउँदै देवचुली नगरपालिकाका अन्य खानेपानी संस्थाका उपभोक्ताहरुलाई सहज रुपमा पानी पिउने वातावरण मिलाउन गण्डकी प्रदेश सरकारसँग पहल गर्ने उनले बताए ।
प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था देवचुली नगरपालिकामा उदाहरणीय भएको भन्दै आफ्नै नगरपालिकाको खानेपानी संस्थाको अवलोकन गर्न अन्य संस्थाहरुबाट अतिथिहरु आउनु गौरवको कुरा भएको देवचुली नगर उपप्रमुख पार्वता तिवारीले बताइन् । उनले उपभोक्ताहरुलाई चौबिसै घण्टा स्वच्छ र शुद्ध पानी दिईरहेकोमा प्रगतिनगर खानेपानी संस्थालाई धन्यवाद व्यक्त गरिन् ।
देवचुली नगरपालिकामा रहेका अन्य ८ वटा खानेपानी स्तरोन्नतिको लागि समेत संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार मिली काम गरिरहेको उपप्रमुख तिवारीले बताइन् ।
तीन वर्षको कार्यकालमा भौतिक संरचनासँगै प्रशासनीक सुधार गरेको प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष खिमानन्द भुसालले बताए । सम्पूर्ण अभिलेख व्यवस्थापन, डकुमेन्टेसन, रिपोर्टहरुलाई सम्बन्धित कार्यालयमा बुझाउने, पठाउने जस्ता कामहरुसहित प्रशासनमा आमूल परिवर्तन गरिएको साथै संस्थाले प्रविधिको उच्चतम प्रयोग गर्दै अपवादबाहेक चौबीसै घण्टा उपभोक्ताहरुलाई पानी उपलब्ध गराएको उनले बताए । प्रविधिको प्रयोग, प्रशासनिक गतिविधि, भौतिक पूर्वाधार, पानीको वितरण, पानीको गुणस्तर र अभिलेख व्यवस्थित गर्ने नेपालको पहिलो खानेपानी संस्था भएको भुसालले दाबी गरे ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य एवम् सार्वजनिक लेखा समितिका सभापति रोशनबहादुर गाहाले ४ कोठे पानी परीक्षण प्रयोगशाला भवन र ३०० घनमिटर क्षमताको पानी ट्यांकीको रिबन काटेर तथा शिलालेख अनावरण गरेर समुद्घाटन गरेका थिए । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय पोखराको आर्थिक अनुदान र आन्तरिक स्रोतबाट निर्मित ४ कोठे भवनका लागि ५७ लाख ९६ हजार ९ सय ३२ रुपैयाँ र ३०० घनमिटर क्षमताको खानेपानी ट्यांकीको ६७ लाख ४३ हजार ७ सय ५५ रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको संस्थाका सचिव ईन्द्रमणी भुसालले जानकारी दिए । ३०० घनमिटर क्षमताको पानी ट्यांकी २०७७ असार १ गते संस्थाका अध्यक्ष खिमानन्द भुसालले शिलान्यास गरेका थिए भने ४ कोठे भवनको शिलान्यास २०७७ पौष १६ गते देवचुली नगरपालिकाका नगरप्रमुख पूर्णकुमार श्रेष्ठले गरेका थिए ।
प्रगतिनगर खानेपानी संस्थाका अध्यक्ष खिमानन्द भुसालको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य एवम् सार्वजनिक लेखा समितिका सभापति रोशनबहादुर गाहाको प्रमुख आतिथ्यता साथै देवचुली नगरपालिकाको उपप्रमुख पार्वती तिवारीको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा संस्थाका सल्लाहकार समितिका पदाधिकारी, विभिन्न वडाका वडाध्यक्ष, राजनैतिक दलका प्रतिनिधि, विभिन्न खानेपानी संस्थाका अध्यक्ष/प्रतिनिधि , समाजसेवि, बुद्धिजिवीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष रुकमागत भुसालले स्वागत मन्तव्य तथा कार्यक्रमको सहजीकरण संस्थाका सचिव इन्द्रमणी भुसालले गरेका थिए ।





