भरतपुर, ६ कार्तिक ।
कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरको आयोजनामा कार्तिक ८ गतेदेखि १२ गतेसम्म भैँसीपालनको विकास तथा सबलीकरणका लागि दशौँ एसियन बफेलो कांग्रेस हुने भएको छ ।
भर्चुअल रूपमा आयोजना गरिने सम्मेलनमा नेपाल सहित १७ वटा राष्ट्रका वैज्ञानिकहरूको सहभागिता रहने आयोजक समितिले भरतपुरमा पत्रकार सम्मेलन गरी जनाएको हो । सम्मेलनमा १३५ भन्दा बढी कार्यपत्रहरू प्रस्तुत हुनेछन् भने ती कार्यपत्रमाथि ३५० भन्दा बढी वैज्ञानिक, प्राध्यापक, विद्यार्थी तथा सरोकारवालाहरूले बहस तथा छलफल गर्ने बताइएको छ ।
सम्मेलनको उद्धाटन नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मन्त्री महिन्द्र राय यादवबाट हुने जनाइएको छ । यस्तै सम्मेलनमा विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्य प्रसाद रेग्मी विशिष्ट अतिथि रहने आयोजकले जनाएका छन् ।
नेपाल कृषिप्रधान मुलुक भएका कारण त्यस खालको सम्मेलन नेपालमा आयोजना हुनु गर्वको विषय भएको सम्मेलन आयोजक समितिका अध्यक्ष प्रा. डा. भूमिनन्द देवकोटाले बताए । देशभर कूल उत्पादन हुने मासुतर्फ आधाभन्दा बढी तथा दुग्ध उत्पादनतर्फ ६६ प्रतिशतभन्दा धेरै हिस्सा भैँसीपालनले ओगट्ने भएकाले भैँसीका क्षेत्रमा अनुसन्धानहरू हुन आवश्यक रहेको उनले सुनाए । प्रा.डा. देवकोटाका अनुसार सम्मेलनमा मुख्यतः भैँसीपालनको प्रवद्र्धनका लागि आवश्यक पर्ने नीतिनियम, पोषण, रोग निदान, उपचारलगायतका विषयमा छलफल हुनेछ ।
पछिल्लो समय विश्वविद्यालयले भैँसीमा बेमौसमी प्रजनन प्रविधिको विकास गरिरहेको प्रा.डा. देवकोटाले जानकारी दिए । सो प्रविधिलाई कृषकका गोठसम्म पुर्याउन थप अनुसन्धानको आवश्यकता पर्ने उनको जिकिर थियो । यस अघि विश्वविद्यालयले सन् २०१७ मा इन्टरनेशनल बफेलो सिम्पोसियमको आयोजना गरेपश्चात् बेमौसमी प्रजनन प्रविधिको अवधारणा अघि ल्याएको थियो । हाल विश्वविद्यालयले भैँसी अनुसन्धान केन्द्र स्थापनाका लागि काम थालिसकेको छ । विश्वविद्यालय अनुदान आयोगले सेन्टर अफ एक्सीलेन्सका लागि प्रस्तावना आह्वान गर्नेबित्तिकै आफूहरूले भैँसी अनुसन्धान केन्द्रको प्रस्ताव बुझाउने विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्य प्रसाद रेग्मीले बताए । बेमौसमी प्रजननसँगै अन्य विविध प्रविधिका बारेमा हासिल भएका खोज तथा ज्ञानलाई अन्तर्राष्ट्रिय स्तरमै बाँड्नका लागि पनि सम्मेलन उपयोगी हुने उनले बताए ।
सम्मेलनको आयोजकमा विश्वविद्यालयसँगै कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, एसियन बफेलो एशोसिएसन र इन्टरनेशनल बफेलो फेडेरेसन रहेका छन् । यस्तै सहआयोजकमा सातै प्रदेशका भूमि, व्यवस्था तथा कृषि मन्त्रालय, नेपाल कृषि अनुसन्धान परिषद्, नेपाल पशुचिकित्सा परिषद्m नेपाल भेटेरिनरी एशोसिएसन, नेपाल एनिमल साइन्स एशोसिएसन, नेपाल डेरी साइन्स एसोसिएसन तथा अमेरिकाको मिचिगान स्टेट युनिभर्सिटी रहेका छन् । नेपाले पहिलो पटक आयोजना गर्न गइरहेको बताइएको सो सम्मेलनको नारा “खाद्य सुरक्षा र जीविकाका लागि भैँसीपालन” रहेको छ ।
विश्वभरका भैँसीको करिब ९० प्रतिशत संख्या एसिया महादेशमा रहेको भैँसी विज्ञहरू बताउँछन् । नेपालमा लिमे, लारकोटे, गढ्ढी, तराई र भारतीय मुर्रा जातका भैँसी पाल्ने गरिएको छ । देशभर पालिएका भैँसीको कूल संख्या भने करिब ५२ लाख रहेको प्रा.डा. भूमिनन्द देवकोटाले जानकारी दिए ।





