भरतपुर, २७ असोज ।
साफ च्याम्पियनसिप अन्तर्गत नेपाल र बंगलादेशबीचको खेल सुरु भएको छ । माल्दिभ्समा भैरहेको खेलको लागि नेपालले बलियो टोलीलाई सुरुआती ११ मा राखेको छ ।
यसअघि सुरुआती टोलीमा परेका पुजन उपरकोटी अभ्यासका क्रममा घाइते भए । उनको स्थानमा विशाल राईलाई राखिएको छ ।
साफ च्याम्पियनसिपमा तीन खेलमा दुई जित र एक हार व्यहोरेको नेपालले यो खेल जितेमा फाइनल पुग्नेछ । बराबरी मात्र पनि नेपालको लागि पर्याप्त छ । अर्कोतर्फ बंगलादेशले पनि खेल जितेमा फाइनल पुग्न सक्ने भएकाले उसका लागि पनि खेल उतिकै महत्वपूर्ण छ ।
नेपालले हालसम्म ६ अंक जोडिसकेको छ भने बंगलादेशको चार अंक छ ।
नेपालले आफ्नो पहिलो खेलमा आयोजक तथा डिफेन्डिङ च्याम्पियन माल्दिभ्सलाई पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा श्रीलंकालाई हराएको थियो ।तेस्रो खेलमा भने नेपाल भारतसँग पराजित भएको थियो ।





