भरतपुर, ५ असोज ।
नेपालमा लोपोन्मुख प्रजाति अन्तर्गत रहेको गिद्धको संरक्षणमा पछिल्ला केही वर्षयता सामान्य प्रगति भएको सरोकारवालाहरूले जनाएका छन् । नेपाल पन्छी संरक्षण संघले गएको भदौ १९ गते (सेप्टेम्बर ४) स्याङ्जा, अर्घाखाँची, नवलपरासी, चितवन, दाङ, कैलाली लगायत विभिन्न ३८ वटा जिल्लामा गिद्ध गणना गर्दा अघिल्लो वर्षको तुलनामा बढी गिद्ध पाइएका हुन् ।
अन्तर्राष्ट्रिय गिद्ध संरक्षण दिवसको अवसरमा गरिएको गणनाले ती क्षेत्रमा हाल सात प्रजातिका २ हजार ३१२ वटा गिद्ध रहेको देखाएको हो । संघले सन् २०१८ मा सञ्चालन गरेको गणनामा गिद्धको संख्या १ हजार ८१६ पाइएको थियो भने सन् २०१९ मा उक्त संख्या बढेर १ हजार ९०५ पुगेको थियो । संघको गिद्ध संरक्षण कार्यक्रमका कार्यक्रम प्रबन्धक अंकितविलाश जोशीका अनुसार यो नै गिद्धको अन्तिम संख्या भने होइन । यद्यपि यस खालको गणनाले गिद्धको संख्यामा आउने उतारचढावको प्रवृत्तिलाई बुझ्न सघाउ पु¥याउने मत जोशी राख्छन् ।
“नेपालमा धेरै पाइने भनेको हिमाली गिद्ध हुन् । हिमाली क्षेत्रमा हुने त्यस्ता सबै गिद्धको गणना गर्न सकेका छैनौं”, जोशी भन्छन्, “नेपालमा ती गिद्ध १० हजारभन्दा कम रहेको अनुमान गरिएको छ ।” संघको २०२१ संस्करणको राष्ट्रिय गिद्ध गणनामा ४८४ वटा हिमाली गिद्ध भेटिएको जोशीले बताए । त्यस्तै उक्त गणनामा १ हजार २९३ वटा डंगर गिद्ध (ह्वाइट रम्पर्ड भल्चर), ३९२ वटा सेतो गिद्ध (इजिप्टियन भल्चर), ६० वटा सुन गिद्ध (रेड हेडेड भल्चर), ४३ वटा हाडफोर गिद्ध (बियरडेड भल्चर), ३३ वटा सानो खैरो गिद्ध (स्लेन्डर बिल्ड भल्चर) र ७ वटा राज गिद्ध (सिनेरस भल्चर) पाइएको संघले जनाएको छ ।
३८ वटा जिल्लामा गरिएको पछिल्लो गिद्ध गणनाले गिद्ध संरक्षणको क्षेत्रमा केही प्रगति देखिन थालेको जोशीको भनाइ थियो । गणनामा गिद्धको संख्या बढ्नुले समग्रमा भने गिद्धको संख्या स्थिर नै रहेको संकेत गरेको उनले बताए । “नेपालमा सन् १९८० को दशकसम्म १० देखि १६ लाख गिद्ध रहेको अनुमान गरिन्छ । सन् १९९० को दशकमा उक्त संख्यामा करिब ९५ प्रतिशत भन्दा बढीले गिरावट आएको थियो जसकारण हाल नेपालमा गिद्धको संख्या करिब २० हजारभित्र सीमित भएको मानिन्छ”, जोशीले बताए । उनका अनुसार सन् २००२ देखि २०११ सम्म पूर्व पश्चिम राजमार्ग क्षेत्रमा गरिएको सर्वेक्षणले डंगर गिद्धको संख्या ९१ प्रतिशत तथा सानो खैरो गिद्धको संख्या ९६ प्रतिशतले घट्न पुगेको निष्कर्ष निकालेको थियो । गिद्धको संख्यामा देखिएको यस प्रकारको विनाशका कारण इन्टरनेशनल युनियन फर कन्जर्भेसन अफ नेचर (आइयुसीएन)ले सानो खैरो गिद्ध, डंगर गिद्ध, लामो ठुँडे र सुन गिद्धलाई अतिसंकटापन्न र सेतो गिद्धलाई संकटापन्न सूचीमा राखेको छ ।
सन् १९९० मा गिद्धको संख्यामा देखिएको अस्वाभाविक गिरावटको कारण गिद्धको बासस्थानको विनाश र कीटनासक औषधिको अत्यधिक प्रयोग रहेको जोशीले बताए । “घरपालुवा जनावरको उपचारका लागि डाइक्लोफेनेक नामक औषधिको प्रयोग गर्नाका कारण पनि गिद्धको संख्या घट्न पुगेको हो । त्यो औषधि मिसिएको सिनो खान पुगेका गिद्धहरूको मिर्गौलाले काम नगरेर मृत्यु हुन पुग्यो”, जोशीले भने । पोखरा पन्छी समाजले प्रकाशन गरेको नेपालका गिद्धहरू नामक पुस्तकमा उल्लेख गरिएअनुसार ३० मिलिलिटर डाइक्लोफेनेक औषधि प्रयोग भएको सिनोले ३५० देखि ८०० वटासम्म गिद्धको ज्यान लिनसक्ने सम्भावना हुन्छ । वनजंगलको फडानीका कारण गुँड बनाउन रुख नपाएर पनि कतिपय गिद्धले ठाउँ सरेको हुनसक्ने अंकित विलाश जोशी बताउँछन् । उड्ने क्रममा हाइ भोल्टेजका विद्युतीय प्रसारण लाइनमा ठोक्किएर पनि गिद्धहरू मर्ने गरेको उनले सुनाए ।
गिद्ध संरक्षणका लागि जटायु रेष्टुरेन्ट
गिद्ध संरक्षणका लागि सन् २००६ मा तत्कालीन नवलपरासी जिल्लाको कावासोतीमा जटायु रेष्टुरेन्ट सुरु गरिएको थियो । यस्ता रेष्टुरेन्ट हाल देशका विभिन्न सात ठाउँमा विस्तार गरिएको जोशीले जानकारी दिए ।
“जटायु वा गिद्ध रेष्टुरेन्टको प्रमुख अवधारणा भनेको गिद्धलाई शुद्ध र सुरक्षित आहारा प्रदान गर्नु हो । यस्ता रेष्टुरेन्टको निश्चित क्षेत्रमा किसानहरूले अशक्त तथा बुढा चौपाया ल्याएर छाडिदिन्छन् । त्यस्ता वस्तुभाउमा डाइक्लोफेनेक जस्तो औषधि प्रयोग नभएको निक्र्योल गरिन्छ”, उनले अगाडि थप्दै भने, “उमेर पुगेपछि जब ती वृद्ध तथा अशक्त जनावर मर्छन्, उनीहरूको सिनोलाई गिद्धको आहाराको रूपमा चौरमा लगेर छाडिन्छ ।”
चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गिद्ध संरक्षण तथा प्रजनन केन्द्रमा कोरलिएका तथा हुर्काइएका गिद्धलाई पनि सोही जटायु रेष्टुरेन्टमा छाडिने गरेको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार सन् २०१७ को अप्रिलयता ६१ वटा गिद्धको ढाडमा जीपीएस ट्याग राखी जटायु रेष्टुरेन्टमा छाडिसकिएको छ । तीमध्ये ३१ वटा गिद्ध प्रजनन केन्द्रमै कोरलिएका (क्याप्टिभ) हुन् भने अन्य ३० वटा जंगली गिद्धमा जीपीएस ट्याग गरी छाडिएका हुन् । सो अवधिमा केन्द्रले बाँकी २१ वटा गिद्धलाई जीपीएस ट्याग नगरी छाडेको अधिकारीले जानकारी दिए ।
पछिल्ला समयमा भने केन्द्रमा पोथी गिद्धले अण्डा पारे पनि कोरल्दा बच्चा ननिस्कने समस्या देखिन थालेको अधिकारीले बताए । “गिद्धले सामान्यतया एक वर्षको एउटा प्रजनन अवधिमा एउटा मात्रै अण्डा पार्ने गर्दछ । पछिल्लो पटक कोरलिएका केही अण्डाबाट भने बच्चा निस्किएनन्”, निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले सुनाए । कोरलिएको अण्डाबाट बच्चा ननिस्किनुले गिद्धको संरक्षणमा झन् ठूलो चुनौती थपिदिएको छ ।
“वातावरण चिसो भएका कारण फुलबाट बच्चा ननिस्किएका हुन् कि भन्ने हामीले प्रारम्भिक अनुमान गरेका छौं । फुल कोरल्दा बच्चा ननिस्किएको के कारणले हो त्यस बारेमा अझै अध्ययन गरिरहेका छौं”, पन्छी संरक्षण संघका अंकितविलाश जोशीले बताए । सन् २०१९ डिसेम्बरदेखि २०२० मे महिनासम्मको अवधिमा देशका विभिन्न स्थानमा गिद्धका ५०० वटा गुँड भेटिएको उनले जानकारी दिए । तीमध्ये ४२० वटा गुँडमा डंगर प्रजातिका गिद्धले फुल पारेका थिए तर करिब ३०० हाराहारी गुँडमा मात्रै अण्डाबाट बच्चा कोरलिएका थिए । “२०१९–२० को प्रजनन समयमा डंगर गिद्धको कूल गुँड संख्याको ७१ प्रतिशत गुँडमा मात्रै बच्चा कोरलिएको पायौं । बाँकी गुँडमा अण्डाबाट बचरा किन कोरलिएनन् भन्ने कुरा गिद्ध संरक्षणका लागि सोचनीय विषय बन्न पुगेको छ”, उनले बताए ।





