गैंडाकोट, ५ असोज ।
नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोटको २३औँ साधारणसभा मंगलबार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिका नगर प्रमुख छत्रराज पौडेलले सामुदायिक वनले आफ्ना कार्यक्रम सञ्चालन गर्दाखेरी देखिने र उपभोक्ताले प्रत्यक्ष लाभ लिनसक्ने कार्यक्रम सञ्चालन गर्नसक्ने हो भने कार्यक्रम प्रभावकारी बन्ने बताए । पौडेलले आफ्नो बाटोका छेउमा फलफूलका विरुवा रोप्ने बानीको विकास गर्न सुझाव पनि दिए ।
कार्यक्रमका विशिष्ट अतिथि गैँडाकोट नगरपालिकाका नगरउपप्रमुख बिष्णुकुमारी कंडेलले नन्दन सामुदायिक वनले निर्माण गर्न लागेको धवाहा तालले पर्यटकीय क्षेत्र विस्तारसँगै पर्यापर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने वताइन् । धवाहा ताल पूर्णरुपमा निर्माण सम्पन्न भएमा गौरव गर्ने ठाउँ वन्ने उनले बताइन् ।
सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेश उपाध्यक्ष खगराज सापकोटाले कुन सामुदायिक वनमा कस्ता कार्यक्रम सञ्चालन गर्न भन्ने कुरा स्थानीय वन निति बनेमा सहज हुने बताए ।
कार्यक्रममा आर्थिक वर्ष ०७७/७८को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सचिव पूजा शर्मा पौडेलले धवाहा ताललाई आन्तरिक तथा बाह्य पर्यटकिय स्थलको रुपमा विकास गर्ने र जैविक विविधता संरक्षण गर्दै गर्मीयाममा वन क्षेत्रमा लाग्ने वन डढेलोलाई रोक्न तथा नियन्त्रण गर्न अग्नी नियन्त्रक टोली नियुक्त गरि आवश्यकता अनुसार उपभोक्ताहरुको परिचालनबाट पूर्ण रुपमा डढेलो नियन्त्रणमा प्रयास गर्ने बताइन् । कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष प्रेमप्रसाद सापकोटा र अनुगमन तथा मुल्यांकन समितिको प्रतिवेदन अनुगमन तथा मुल्यांकन समिति संयोजक डिलाराम सापकोटाले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा जयश्री सामुदायिक वनका अध्यक्ष टोलनाथ घिमिरे, राष्ट्रिय जनमोर्चा नगर कमिटिका अध्यक्ष कृष्णप्रसाद सापकोटा, माओवादी नगर कमिटिका अध्यक्ष युवराज रिमाल, नेकपा एमालेका नगर अध्यक्ष षडानन्द लामिछाने र समाजसेवी धनप्रसाद सापकोटाले शुभकामना मन्तव्य राखेका थिए ।
१०५९ घरधुरी उपभोक्ता सदस्य रहेको नन्दन सामुदायिक वनले पहिचान हुन नसकेका तथा लोभ हुन लागेका अमुल्य जडिवुटी पहिचान गरेर संरक्षण गरेको, उपभोक्ता सदस्यको मृत्यु भएमा निशुल्क दाउरा उपलब्ध गराउने व्यवस्था गरेको, धवाहा तालको विस्तृत कार्ययोजना डिपिआर अनुसार काम सञ्चालन गरिएको नन्दन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष धनश्याम कंडेलले बताए ।
कँडेलले आफनो ३ वर्षको कार्यकालमा उपलब्धिमूलक कार्यक्रम सञ्चालन गरेको पनि बताए । उपाध्यक्ष टीकाराम सुवेदीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण सचिव पूजा शर्माले गरिन् ।





