काठमाडौँ, ३ असोज ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले सरकारले दिएको पदक फिर्ता गर्न न्यायाधीशहरूलाई अनुरोध गरेका छन् ।
सातौँ संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आइतबार एमालेले आयोजना गरेको कार्यक्रममा नेता नेम्वाङले केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध भूमिका खेल्ने तथा सर्वोच्च अदालतमा मुद्दा मामिलाको प्रक्रियामा जाने कानुन व्यवसायी, व्यक्तिलगायत मुद्दाको फैसला गर्ने संवैधानिक इजलासमा बसेका व्यक्तिहरूले सरकारबाट पदक पाएको भन्दै पदक अस्वीकार गर्न न्याधीशहरूलाई आग्रह गरेका हुन् ।
आफ्नो पार्टी नेतृत्वको सरकारलाई विस्थापित गर्ने र परमादेशबाट सरकार स्थापित भएको घोषणा गर्ने अदालतका सम्बन्धित मान्य न्यायाधीशहरू, सरकारका विरुद्धमा मुद्दा दर्ता गर्न सम्पूर्ण पहल र प्रयास गर्ने मुद्दावालाहरू, त्यसका पक्षहरूले महत्वपूर्ण मेडल पाएको नेम्वाङले उल्लेख गरेका छन् ।
यस्तै, नेता नेम्वाङले केन्द्र तथा प्रदेश सरकारमा समेत सहभागी भएर संसद्मा पनि सबै प्रक्रियामा सहभागी भएका राजनीतिक दलहरूले संविधान दिवस नमनाउने भन्न नसुहाएको बताए । संविधान स्वीकार्य भएको पनि उनको भनाइ थियो ।




