एमसीसी पास गरे सरकारको दिनगन्ती सुरु हुन्छ : ढुंगाना

गैंडाकोट, २९ भदौ ।                                         राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुंगानाले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नेपालको राष्ट्रिय स्वाधीनताको विरुद्धमा रहेको बताएका छन् । मंगलबार राष्ट्रिय जनमोर्चा नवलपुर जिल्ला कार्यसमितिले गैँडाकोटमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै ढुंगानाले एमसीसी लागू गरेर अमेरिकाले नेपालाई युद्ध मैदान बनाउन लागेको आरोप लगाए । उनले एमसीसी खारेजीका लागि शीर्ष नेताहरुलाई खबरदारी गर्न आमजनतालाई आग्रह समेत गरे ।

‘हामी राष्ट्रघाती एमसीसी खारेज गर्ने अभियानमा लागेको छौँ । यो अभियानमा सारा नेपाली लाग्नु भएको छ’ उनले भने, ‘सैन्य रणनीति अंग अन्तर्गत नेपालमा एमसीसी प्रवेश गर्दैछ । यसलाई खारेज गर्नका लागि खबरदारी गर्न राष्ट्रप्रेमी नेपाली लाग्न आवश्यक छ ।’ उनले नेपाली जनताको स्वाधीनतालाई च्यूत गरेर एमसीसी पास गरे सरकारको दिनगन्ती सुरु हुने चेतावनी समेत दिए ।

 

नेपालको संविधानभन्दा माथि राखेर पास गर्न खोजे रणनैतिक उद्देश्य पूरा नहुँदासम्म जोखिम बढ्ने उनले जिकिर गरे । सोही कार्यक्रममा संविधानसभा सदस्य गुणाखर बस्यालले कुनै पनि हिसाबले एमसीसी पास गर्न नहुने बताए । अधिकांश सन्धि, सम्झौता राष्ट्रघाती हुने गरेको भन्दै उनले अमेरिकाले भारतमार्फत चीनलाई घेर्ने योजना बनाएको दाबी गरे । राजनीतिक दलहरु संशोधन गरेर एमसीसी पास गर्ने तयारीमा रहेको बताउँदै उनले यसलाई संशोधन होइन खारेज गर्नुपर्ने बताए ।

 

वामपन्थी बृद्धिजीवी युवराज पन्थीले नेपालको कानुनभन्दा माथि एमसीसी रहेकाले खारेज गर्नुपर्ने बताए । संसदबाट एमसीसी पारित भएपछि नेपालको स्रोत अमेरिका पुग्ने उनको दाबी छ । अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य शालिकराम सापकोटाले एमसीसी खारेज नहुँदासम्म सडकमा विरोध प्रर्दशन गरिरहने बताए ।

 

चितवन जागरण मञ्चका तर्फबाट विरोध सभालाई सम्बोधन गर्दै यमुना न्यौपानेले एमसीसी संशोधन पास गर्नु राष्ट्रका लागि झन् खतरा हुने बताइन् । राष्ट्रिय जनमोर्चा नवलपुर जिल्ला कार्यसमितिका अध्यक्ष दीपक पाण्डेको अध्यतातामा भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट