भरतपुर, १३ साउन ।
चितवनका अधिकांश क्षेत्रमा बिहिबार विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ ।
हेटौँडा ग्रिड महाशाखा अन्तर्गतको भरतपुर १३२, ३३, ११ केभी सबस्टेसनमा १३२ केभी बसबार कण्डक्टर मर्मत कार्य भइरहेकाले भरतपुर सवस्टेसनबाट विद्युत वितरण हुने सम्पूर्ण फिडर प्रभावित हुने विद्युत प्राधिकरणले जनाएको छ । विद्युत प्राधिकरण भरतपुर वितरण शाखाका इन्जिनियर विनोद सापकोटाका अनुसार बिहीबार बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ ।
इञ्जिनियर सापकोटाका अनुसार भरतपुर महानगरपालिका र माडी नगरपालिकाका सबै क्षेत्रमा विद्युत आपूर्ति बन्द हुनेछ । यस्तै, रत्ननगर, कालिका, राप्ती र खैरहनीका केही भाग तथा नवलपुरको दाउन्नेसम्मको क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुनेछ । भरतपुर सव स्टेसनबाट १० वटा फिडरमा विद्युत वितरण हुने गरेको छ ।
औद्योगिक फिडर १, २, भरतपुर फिडर १, २, कल्याणपुर, भृकुटी, नारायणघाट, गैँडाकोट, कोकाकोला फिडर रहेका छन् । यस्तै ३३ केभी अन्तर्गतको चनौली सवस्टेसन, नारायणी, रामपुर र गीतानगर फिडरबाट वितरित विद्युत सेवा पनि प्रभावित हुने बताइएको छ ।





