भरतपुर, १३ साउन
भरतपुरको प्रतिष्ठित फुटबल क्लब सेन्ट्रल कलेज बिएफसीले सी डिभिजन क्लालिफायर खेल्ने भएको छ । सी डिभिजनमा प्रवेशका लागि भदौ १ देखि काठमाडौँमा हुन लागेको प्रतियोगिता खेल्न लागेको क्लबका प्रशिक्षक धुर्व भुषालले जानकारी दिए ।
“हामीले क्वालिफायर खेल्ने भएका छौँ”, भुषालले भने, “त्यसका लागि निकै उत्साहित छौँ ।” भरतपुर आधार क्षेत्र भए पनि यो क्लबले देशव्यापीरूपमा नकआउट फुटबल प्रतियोगिताहरू खेल्दै आएको छ । ती प्रतियोगितामा यो क्लबले प्रभाव छोड्ने गरेको छ ।
प्रशिक्षक भुषालका अनुसार यो क्लबले नेपालका लगभग सबै ठूला गोल्डकपहरूमा सहभागिता जनाइसकेको छ । मेघौली राइनो गोल्डकप र ल्होसार कप चितवनको विजेता बिएफसी सिमरा गोल्डकप, राजश्री गोल्डकप, वागमती गोल्डकप, सूर्यनगर गोल्डकप बुटवल, सिरहा गोल्डकप लहान, रुपन्देही गोल्डकप, हेटौंडा गोल्डकप र माडी गोल्डकपमा उपविजेता बनिसकेको छ । “अब हामी डिभिजन लिगमा पनि सिँढी चढ्न चाहन्छौँ”, उनले भने ।
सी डिभिजनमा क्वालिफाइ हुन सजिलो भने छैन । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने यो क्वालिफायरमा करिब ५० टिम सहभागी हुने छन् । त्यसबाट शीर्ष ३ टिम मात्रै सी डिभिजनमा बढुवा हुने छन् । बाँकी सबै टोलीले अर्कोचोटि पुनः प्रयास गर्नुपर्ने छ ।
मोफसलका क्लबलाई काठमाडौँमा गएर खेल्न आर्थिक जोहो गर्न पनि गाह्रो हुन्छ । “हामीलाई करिब १२ लाख खर्च आवश्यक पर्छ”, भुषालले भने, “शीर्ष प्रायोजकसँगै स्थानीय व्यावसायिक प्रतिष्ठान र विदेशमा रहेका क्लबका शुभेच्छुकका सहयोगबाट खर्च जुटाउँदै छौँ ।”
क्लालिफायर खेल्ने अधिकांश खेलाडी चितवनबाट छानिने उनले जानकारी दिए ।
२०५८ सालमा स्थापित यो क्लबलाई विगत २ वर्षदेखि सेन्ट्रल कलेज एण्ड भोकेसनल ट्रेनिङ सेन्टर नारायणगढले शीर्ष प्रायोजन गर्दै आएको छ ।





